Nepal Purbadhar

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास, मोटरसाइकलमा ह्वीललक लगाएपछि घटना भएको आशंका


काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक युवाले आत्मदाहको प्रयास गरेका छन्। शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपाली हुन्। प्रहरीका अनुसार उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ र अवस्था गम्भीर रहेको छ। उनी अहिले उपचाररत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रारम्भिक अनुसन्धानबाट गणेश नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेको र त्यसपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले उक्त मोटरसाइकलमा ह्वीललक लगाएको खुलेको छ।

प्रहरीका अनुसार घाइते नेपाली अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा छन्। तर आत्मदाह प्रयासको वास्तविक कारण अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै राहदानी विभाग परिसरमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थानीय, सुरक्षाकर्मी र सर्वसाधारणको सहयोगमा आगो निभाएर घाइतेलाई तत्काल उद्धार गरी वीर अस्पताल पठाइएको थियो।

प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। मोटरसाइकलमा ह्वीललक लगाइएको घटनाले आत्मदाह प्रयाससँग प्रत्यक्ष सम्बन्ध राख्छ वा राख्दैन भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ।


Read Previous

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री

Read Next

आज मध्यरातदेखि स्थानीय तहमा ‘सूत्र’ प्रणाली बन्द हुने, असार ३२ सम्म हिसाब मिलानका मात्रै हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar