Nepal Purbadhar

४५० मेगावाट उत्पादन बन्द, लक्ष्मीपूजाको दिन पनि कसरी सम्भव भयो ५८७ मेगावाट विद्युत् भारत निर्यात ?


काठमाडौं। प्राकृतिक विपद्का कारण करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि नेपालले यस वर्षको लक्ष्मीपूजामा आन्तरिक माग धान्दै भारततर्फ ५८७.३० मेगावाट विद्युत् निर्यात गरेको छ। विद्युत् उत्पादनमा क्षति पुगेको र आन्तरिक मागसमेत बढेको अवस्थामा प्राधिकरणले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विद्युत् आपूर्ति व्यवस्थापन गरेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। उक्त समयमा प्रणालीको कुल पिक भार २ हजार ४००.३० मेगावाट पुगेको थियो। आन्तरिक माग व्यवस्थापन गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। उक्त समयमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट थियो।

कहाँबाट आयो आवश्यक बिजुली?

प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन स्वतन्त्र ऊर्जा उत्पादकका आयोजनाबाट सबैभन्दा बढी १ हजार ५३६.५० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उपलब्ध भएको थियो।

यसरी विभिन्न स्रोतबाट उपलब्ध विद्युत्लाई अधिकतम उपयोग गरेर आन्तरिक माग पूरा गरिएको प्राधिकरणले जनाएको छ। प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट उत्पादन प्रभावित भए पनि अन्य आयोजनाबाट उपलब्ध विद्युत् र प्रणाली व्यवस्थापनमार्फत आपूर्ति सन्तुलन कायम गरिएको हो।

विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा आउन सक्ने सम्भावित समस्या समाधान गर्न प्राधिकरणले देशभरका प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणाली नियमित राख्न आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। ट्रान्सफर्मरसहित आवश्यक उपकरण तयारी अवस्थामा राख्नुका साथै कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको उनले बताए।

गत वर्षभन्दा ६८ मेगावाट बढी माग

यस वर्ष लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाटले बढेको छ। प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा उच्चतम माग १ हजार ७४५ मेगावाट थियो। २०८१ सालमा भने यस्तो माग १ हजार ६०२ मेगावाट रहेको थियो।

काठमाडौं उपत्यकामा विद्युत् माग बढ्ने दर अझ उच्च देखिएको छ। यस वर्ष लक्ष्मीपूजाको समयमा उपत्यकाको उच्चतम माग ४८९ मेगावाट पुगेको थियो। गत वर्ष यस्तो माग ४०२ मेगावाट मात्रै थियो। यसअनुसार एक वर्षमै उपत्यकाको विद्युत् माग ८७ मेगावाटले बढेको छ।

माग र निर्यात दुवै व्यवस्थापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेको अवस्थामा पनि उच्चतम माग व्यवस्थापन भएकोमा प्राधिकरणका कर्मचारी र उपभोक्तालाई धन्यवाद दिएका छन्।

आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका अधिकारीसहित भार प्रेषण केन्द्र पुगेका मन्त्री श्रेष्ठले विद्युत् माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। उनले पछिल्ला तीन वर्षको लक्ष्मीपूजाको विद्युत् माग तथा आपूर्तिको तथ्यांकसमेत विश्लेषण गरेका थिए।

उनले चुनौतीपूर्ण परिस्थितिमा विद्युत् आपूर्ति नियमित राख्न खटिएका कर्मचारीको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सुरक्षित, भरपर्दो र नियमित विद्युत् आपूर्ति कायम राख्न आग्रह गरे।

बढ्दो आन्तरिक माग र उत्पादन प्रणालीमा आएको क्षतिका बीच पनि विद्युत् कटौती नगरी भारततर्फ निर्यात कायम राख्न सक्नुले नेपालको विद्युत् व्यवस्थापनमा उपलब्ध स्रोतको उपयोग र प्रणाली सञ्चालनको महत्त्व देखाएको छ।


Read Previous

घोप्टेभिरको पहिरो पन्छाइदै, दिउँसो १ बजेसम्म सडक खुलाउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar