
काठमाडौं। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि ट्राफिक प्रहरीले लामो दूरीका सार्वजनिक सवारीमा दुई चालक भए-नभएको विषयमा विशेष निगरानी र अनुगमन गर्ने भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र रातको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानबाट हुन सक्ने दुर्घटना रोक्न दुई चालकको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको बताए।
उनका अनुसार लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुई चालक भए-नभएको विषयमा नियमित जाँच गरिनेछ। नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
लगातार लामो समयसम्म सवारी चलाउँदा चालकमा थकान उत्पन्न हुने र त्यसले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले दुई चालकले पालैपालो सवारी चलाउने व्यवस्था प्रभावकारी बनाउन लागिएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले रात्रिकालीन लामो दूरीका सार्वजनिक सवारीमा दुई चालक राख्नुपर्ने नियम थप कडाइका साथ लागू गरिने बताए।
“चालकसहित यात्रुको सुरक्षाका लागि रात्रिकालीन सेवाका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम छ। त्यसैलाई अब थप कडाइका साथ लागू गर्दैछौँ,” उनले भने।
चालकको मादक पदार्थ सेवनमा पनि जाँच
ट्राफिक प्रहरीले लामो दूरीका सवारी चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे-नगरेको विषयमा समेत कडाइका साथ चेकजाँच गर्ने भएको छ।
सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित दुर्घटनाको जोखिम नियन्त्रण गर्ने उद्देश्यले निगरानी बढाउन लागिएको प्रवक्ता सुवेदीले बताए।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, टिकटको माग उच्च हुने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले यात्रु सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको हो।
सवारीको अवस्था र चालकको योग्यता पनि जाँच
चाडपर्व लक्षित अभियानअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अवस्था, चालकको योग्यता तथा ट्राफिक नियम पालना भए-नभएको समेत निगरानी गर्ने जनाएको छ।
दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराइनेछ। मुख्य सडक, सवारी आवागमन बढी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने कार्यालयले जनाएको छ।
यात्रु ठगी रोक्न पनि निगरानी
ट्राफिक प्रहरीले चाडपर्वका बेला यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न पनि निगरानी बढाउने भएको छ।
यात्रु ठगी रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले ट्राफिक नियम पालना गर्नुका साथै यात्रुले पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ।
चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप र यात्रुको आवागमन बढ्ने भएकाले सडकमा प्रहरीको उपस्थिति बढाएर सुरक्षित तथा व्यवस्थित यातायात सञ्चालन गराउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।

