
बेनी । मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पर्छ – रुप्से झरना । अजङ्गको पहाडबाट झर्ने झरनाले बेनी–जोमसोम सडकमा यात्रा गर्ने जोकोहीलाई आकर्षित गर्छ । जति हतारै भएपनि यात्रु एकैछिन रोकिएर झरना अवलोकन गर्छन् । सम्झना स्वरुप तस्बिर र भिडियो आफ्नो मोबाइलमा कैद गर्छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने झरना बाह्रै महिना उत्तिकै आर्कषक देखिन्छ । हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न मुस्ताङ पुग्ने पर्यटकका लागि यो झरना घण्टौँ भुल्ने माध्यम बनेको छ ।

यो समय रुप्से झरनामा भारतीय पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । गर्मीका कारण हिमाल उक्लिएका भारतीय पर्यटक रुप्से झरनामा स्नान गर्छन् । झरना नाजिकै विश्वको सबैभन्दा गहिरो अन्धगल्छी पर्छ । तर अहिले अन्धगल्छी पुग्ने बाटो पहिरोले बगाएको छ । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकन गर्दा बेलाबेला सडकसमेत अवरुद्ध हुन्छ ।

बेनी–जोमसोम सडकको अवस्था सुधार भएपछि कतिपय युवायुवती झरना हेर्न पुग्ने गरेका छन् । अहिले बेनीदेखि झरनासम्मको सडकको दर्जन स्थान बाढी पहिरोले जोखिमपूर्ण बनाएको छ । तर, घुम्न आउने पर्यटकको संख्यामा भने कमी आएको छैन । बर्खाको समय भएकाले उर्लिएको झरनामा अहिले धमिलो पानी देखिन्छ ।

