
फाईल तस्बीर।
काठमाडौं। गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाएको छ।
आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति भएको छ। वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको छ।
बाढी आएको दिन भदौ १० गते नै नेपाली सेनाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुगमन (रेकी) गरेको थियो। त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा सेनाले २ जनाको शव फेला पारेको थियो।
भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य गरिरहेका छन्। हालसम्म टोली सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरिसकेको छ।
खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एस्काभेटरसहित आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग भइरहेको छ। उपकरणमार्फत सुरुङभित्रको दलदल पन्छाउने तथा उत्खनन गर्ने काम निरन्तर जारी रहेको छ।
