
काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीले ध्वस्त बनाएको नुवाकोटको विदुरस्थित तादी खोलामाथिको बेलिब्रिज पुनः जडान गर्न नेपाली सेनाले काम तीव्र पारेको छ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले तादी खोलामाथिको बेलिब्रिज बगाएपछि नुवाकोटका केही क्षेत्रसँगै रसुवासँगको सडक सम्पर्कसमेत प्रभावित भएको थियो।
नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त पुलको पुनःजडान कार्य अघि बढाएको हो। पुल निर्माणपछि बाढीका कारण अवरुद्ध सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
यसैगरी सेनाले बेलिब्रिज नजिकै त्रिशूली नदीमाथि तुइनसमेत जडान गरिरहेको छ। तत्कालका लागि आवतजावत तथा आवश्यक सामग्री ओसारपसारमा सहजता ल्याउने उद्देश्यले तुइन जडान गर्न लागिएको हो।
बाढीले पुल तथा सडकमार्गमा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्र र रसुवासँगको यातायात सम्पर्क टुटेको अवस्थामा सेनाले वैकल्पिक पहुँच निर्माण तथा सडक सम्पर्क पुनःस्थापनाका कामलाई अघि बढाएको छ।
