
काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ।
सरकारले बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउन कोषको बैंक खाता सार्वजनिक गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सर्वसाधारण, निजी क्षेत्र, संघसंस्था तथा इच्छुक दाताले स्वेच्छाले रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।
बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा मानव बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् तथा सञ्चार संरचना र निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ।
बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न, खानेपानी, अस्थायी आवास तथा अन्य अत्यावश्यक राहतका लागि कोषमार्फत स्रोत परिचालन गर्न सकिनेछ। कोषको रकम विपद्मा परेका व्यक्तिको उद्धार, तत्कालीन राहत, औषधि उपचार तथा अत्यावश्यक सामग्री व्यवस्थापनलगायतका काममा प्रयोग गर्ने व्यवस्था छ।
सरकारले विपद्को यस कठिन समयमा इच्छुक व्यक्ति, व्यवसायी, उद्योगी, निजी क्षेत्र, संघसंस्था तथा अन्य सहयोगी निकायलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेकाले आर्थिक सहयोगमार्फत प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न सहयोग पुग्ने सरकारले जनाएको छ।

