
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न, विद्युतमा लगाइएको भ्याट खारेज गर्न र स्वदेशी विद्युत् खपत बढाउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ।
पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अभियानको पहिलो चरण भदौ १ गते काठमाडौंको माइतीघर मण्डलाबाट सुरु हुनेछ। अभियानमार्फत डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुली, विद्युतमा लगाइएको भ्याट खारेजी र आन्तरिक विद्युत् खपत विस्तारका लागि सरकारलाई दबाब दिने पार्टीले जनाएको छ।
उज्यालो नेपाल पार्टीले विद्युत् राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार भएकाले विद्युत् उपभोगमा रहेको अनावश्यक करभार हटाउनुपर्ने बताएको छ। विद्युतलाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउन भ्याट खारेज गर्नुपर्ने पार्टीको माग छ।
त्यस्तै, डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योग तथा व्यवसायबाट बाँकी रहेको बक्यौता महसुल तत्काल असुल गर्न पनि पार्टीले सरकारसँग माग गरेको छ। पार्टीका अनुसार मन्त्रिपरिषद्, विद्युत् नियमन आयोग, सार्वजनिक लेखा समिति तथा सम्बन्धित कानुनी र न्यायिक प्रक्रियाबाट महसुल निर्धारण तथा असुलीका आधार र प्रक्रिया स्पष्ट भइसकेका छन्।
‘बक्यौता रकम असुल गर्न अब कुनै ढिलाइ नगरी सरकारले आवश्यक कदम चाल्नुपर्छ,’ पार्टीले विज्ञप्तिमा भनेको छ।
पार्टीले नेपालमा उत्पादन भइरहेको विद्युतको आन्तरिक खपत बढाउनुलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा समेत जोड दिएको छ। इन्डक्सन चुलो, विद्युतीय सवारीसाधन तथा विद्युतीय उपकरणको प्रयोग बढाउनुका साथै कृषि, उद्योग र घरायसी क्षेत्रमा विद्युत् खपत विस्तारका लागि आवश्यक प्रोत्साहन, पूर्वाधार र नीतिगत व्यवस्था गर्नुपर्ने उसको माग छ।
स्वदेशी विद्युत् खपत बढाउँदा ग्यास तथा आयातित इन्धनमाथिको निर्भरता घट्ने, व्यापार घाटा न्यूनीकरण हुने र राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन योगदान पुग्ने पार्टीको दाबी छ।
उज्यालो नेपाल पार्टीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुली, विद्युतमा लगाइएको भ्याट खारेजी र स्वदेशी विद्युत् खपत बढाउने ठोस नीति तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
अभियानमा सहभागी भई हस्ताक्षरमार्फत समर्थन जनाउन पार्टीले आम नागरिकलाई आह्वान गरेको छ। साथै, अभियानका विषयलाई आम नागरिकसमक्ष पुर्याउन सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई समाचार संकलन, प्रकाशन तथा प्रसारणका लागि सहयोग गर्न अनुरोध गरिएको छ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सचिव केदार खड्काद्वारा जारी विज्ञप्तिमा अभियानलाई जनसरोकारका विषयमा सरकारमाथि दबाब सिर्जना गर्ने कार्यक्रमका रूपमा अघि बढाइने उल्लेख छ। उज्यालो पाटीका अध्यक्ष कुलमान घिसिङ मन्त्री हुँदा बक्यौता उठाइरहेको भएपनि अहिले रोकिएको छ ।
