Nepal Purbadhar

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधन, बुधबार आर्यघाटमा अन्त्येष्टि गरिने


काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित एक अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधन भएको पुष्टि गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।

कांग्रेसका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार अन्तिम श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक थिए। उनी पार्टीको उपसभापतिसम्म पुगेका थिए भने विभिन्न समयमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भू–संरक्षण मन्त्री तथा उद्योग मन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए। साथै, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरेका थिए।

श्रेष्ठ २०४८ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा–१ बाट निर्वाचित भएका थिए। विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०१७ सालपछि भएका विभिन्न लोकतान्त्रिक आन्दोलनमा अग्रपंक्तिमा रहेका नेता मानिन्थे। उनले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।

पार्टीभित्र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच विभाजन हुँदा देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) मा उनी कार्यवाहक सभापतिको जिम्मेवारीमा समेत रहेका थिए। पछिल्ला वर्षहरूमा पार्टीभित्र देखिएका आन्तरिक मतभेदका बीच पनि श्रेष्ठ संयमित र समन्वयकारी नेताका रूपमा परिचित थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका छन्।


Read Previous

राष्ट्रिय यातायात नीति २०८३ जारी, पुराना गाडी विस्थापन र सार्वजनिक सवारीमा इभीलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar