
default
घण्टाघर-अलखियामठ खण्डमा २५-२५ मिटरभित्रका संरचना हटाइँदै
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान पुनः शुरू गरिएको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने काम आजदेखि पुनः शुरू गरेको हो ।
गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि स्थगित गरिएको सडक विस्तार अभियान पुनः प्राथमिकताका साथ अघि बढाइएको सडक डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार घण्टाघर क्षेत्रमा अहिले सातमध्ये पाँच वटा डोजर परिचालन गरी सडक विस्तारको काम भइरहेको छ । घण्टाघर आसपासको करिब सात किलोमिटर क्षेत्रभित्र सडक विस्तारका क्रममा हालसम्म करिब ६०० वटा घर तथा संरचना भत्काइएको उनले बताए ।
सडक विस्तार अभियान अब निरन्तर रूपमा सञ्चालन हुने इन्जिनियर शर्माले जानकारी दिए।
२५-२५ मिटरभित्रका संरचना हटाइँदै
वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाएको थियो । पहिलो चरणमा मुख्य सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो ।
सडक डिभिजन कार्यालयले यही साउन २ गते सूचना जारी गर्दै आफ्नो क्षेत्रअन्तर्गत त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडकखण्डमा सडक सीमा संरक्षणको काम भइरहेको जनाएको थियो ।
कार्यालयले सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका पसल तथा अन्य संरचना तत्काल खाली गर्न, घरभित्र कोही नबस्न तथा घरभित्र रहेका सामान हटाउन सम्बन्धितलाई अनुरोध गरेको थियो ।
त्यस्तै, होटल, लज तथा अतिथि गृहमा पाहुना नराख्न पनि कार्यालयले सम्बन्धित सबैलाई जानकारी गराएको थियो ।
सडक विस्तार अभियानलाई वीरगञ्जको मुख्य सडकको यातायात व्यवस्थापन, सडक सुरक्षा तथा सहरी पूर्वाधार सुधारसँग जोडेर अघि बढाइएको छ ।

