Nepal Purbadhar

सेतीखोला जलविद्युत् आयोजनाबाट उत्पादन सुरु, १५ दिन परीक्षणपछि व्यावसायिक सञ्चालन हुने


पोखरा। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। कम्पनीका निर्देशक दीपक बरालका अनुसार आयोजना प्रारम्भिक रूपमा १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण पनि गरिनेछ। परीक्षण सफल भएपछि आयोजना नियमित व्यावसायिक सञ्चालनमा जानेछ।

आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सञ्चालन केही महिना पछाडि धकेलिएको थियो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक अनुमति प्राप्त गर्न समय लागेको कम्पनीले जनाएको छ।

आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्गमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएको छ।

आयोजनामा करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानी भएको छ। आयोजना पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ।

सेती नदीमा पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनाको लगानी बढ्दै गएको छ। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आइसकेको छ। यसबाहेक सेती नदी क्षेत्रमा विभिन्न क्षमताका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रारम्भिक तथा निर्माण चरणमा रहेका छन्।


Read Previous

भक्तपुरको ‘जिरे खुर्सानी दरबार’ विभागले तिरायो लाई २ लाख ५ हजार रुपैयाँ जरिवाना

Read Next

बाढीले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र पुनर्निर्माण तीव्र, सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar