Nepal Purbadhar

कोशीमा जलप्रवाह बढेपछि उच्च सतर्कता, ब्यारेजका २० ढोका खोलिए

कोशी ब्यारेज।


धरान। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले बिहीबार कोशी ब्यारेजको स्थलगत अनुगमन गर्दै बाढीको अवस्थाबारे जानकारी लिएको हो।

हाल कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। जलप्रवाह बढेपछि ब्यारेजका २० वटा ढोका खोलिएको छ। कोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रचलन रहेको छ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ भने आवश्यक कार्यविधिसमेत तयार पारिएको छ।

कोशी ब्यारेज पुल

बर्खायाममा उद्धार, राहत, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिएको उल्लेख गर्दै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी गरिएको बताउनुभयो।

स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।


Read Previous

वन क्षेत्रभित्रका विकास आयोजनामा सहजता, थप रूख वा पोल हटाउन मन्त्रालयबाटै स्वीकृति

Read Next

लेन्दे बाढीको एक वर्षपछि पनि अस्तव्यस्त रसुवा भन्सार यार्ड, सीमित पूर्वाधारमै सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar