Nepal Purbadhar

टिकटकले नेपालमा एआई साक्षरता अभियान विस्तार गर्दै, एआई कन्टेन्ट चिन्ने नयाँ सुविधा थपिदै


एआई–जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन शैक्षिक सामग्री, स्पाम नियन्त्रण प्रणाली र नयाँ सुरक्षा उपाय सार्वजनिक

काठमाडौं। सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत सिर्जना गरिएका कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउने उद्देश्यले एआई साक्षरता अभियान विस्तार गर्ने भएको छ। कम्पनीले एआई–जेनेरेटेड कन्टेन्ट सहज रूपमा चिन्ने, सुरक्षित रूपमा प्रयोग गर्ने र जिम्मेवारीपूर्वक सिर्जना गर्ने वातावरण बनाउन नयाँ शैक्षिक सामग्री, उन्नत स्पाम पहिचान प्रणाली तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारी विस्तार गरिएको जनाएको छ।

कम्पनीका अनुसार एआई प्रविधिले सिर्जनात्मक अभिव्यक्ति र कन्टेन्ट निर्माणका नयाँ अवसर सिर्जना गरिरहेको भए पनि यसको सुरक्षित र जिम्मेवार भएर प्रयोग गर्न प्रयोगकर्तालाई आवश्यक जानकारी उपलब्ध गराउनु आवश्यक भएको भन्दै विभिन्न नयाँ योजना अघि बढाएको हो।

टिकटकले आगामी केही साताभित्र नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालन गर्ने जनाएको छ। प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा उक्त हबमार्फत एआई–जेनेरेटेड कन्टेन्ट कसरी चिन्ने, एआई टुल्स कसरी जिम्मेवारीपूर्वक प्रयोग गर्ने तथा डिजिटल सुरक्षासम्बन्धी शैक्षिक सामग्री प्राप्त गर्न सक्नेछन्।

यसका लागि टिकटकले न्युज एण्ड मिडिया लिटरेसी एलायन्स (NAMLE) र डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँग सहकार्य गरी व्यावहारिक गाइड पनि तयार गरेको छ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टोलीका एआई प्रमुख टम वर्गिसले प्रयोगकर्ताले एआई प्रयोग गर्दा आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले शिक्षा, प्रविधि र साझेदारीमा निरन्तर लगानी गरिरहेको बताएका छन्। कम्पनीले एआईमार्फत ठूलो मात्रामा उत्पादन हुने स्पाम कन्टेन्ट नियन्त्रणका लागि थप उन्नत प्रणाली परीक्षण गर्ने जनाएको छ।

टिकटकका अनुसार यस वर्षको पहिलो त्रैमासिकमा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएको छ। अब एआईद्वारा सिर्जना गरिएको स्पाम सामग्री नियमित रूपमा पोस्ट गर्ने अकाउन्टहरू स्वतः पहिचान गर्ने प्रणाली विकास भइरहेको कम्पनीले जनाएको छ।

विशेषगरी राजनीति, समसामयिक विषय, स्वास्थ्य तथा वित्तीय सल्लाहसँग सम्बन्धित भ्रामक सामग्री नियन्त्रणमा यी प्रविधि प्रयोग गरिनेछ।

टिकटकले नेपालमा एआई प्रयोग गरेर शैक्षिक तथा सिर्जनात्मक सामग्री बनाइरहेका क्रियटरहरूलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार अश्विन नेउपानेले एआई टुल्ससम्बन्धी ट्युटोरियल र शैक्षिक सामग्री तयार गरिरहेका छन् भने टेकपानाले एआईमार्फत डिजिटल स्टोरीटेलिङ र प्रविधिसम्बन्धी सामग्री उत्पादन गरिरहेको छ। यस्ता क्रियटरले एआईलाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याइरहेको टिकटकको भनाइ छ।

एआईबाट सिर्जना गरिएको वा उल्लेखनीय रूपमा परिमार्जन गरिएको सामग्री स्पष्ट रूपमा चिनाउन टिकटकले अन्तर्राष्ट्रिय C2PA Content Credentials प्रणाली लागू गरिसकेको छ। कम्पनी अहिले C2PA Steering Committee को सदस्यसमेत बनेको छ।

टिकटकका अनुसार हालसम्म ३ अर्बभन्दा बढी भिडियोमा एआई सम्बन्धी लेबल लगाइसकिएको छ। यसले प्रयोगकर्तालाई कुन सामग्री एआईमार्फत सिर्जना वा परिमार्जन गरिएको हो भन्ने कुरा सजिलै थाहा पाउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

टिकटकले Smart Split, AI Outline तथा Manage Topics जस्ता सुविधामार्फत प्रयोगकर्तालाई आफूले कस्तो प्रकारको एआई कन्टेन्ट हेर्ने भन्ने निर्णय गर्ने विकल्प पनि दिएको जनाएको छ।

कम्पनीका अनुसार एआई प्रविधि तीव्र रूपमा विकास भइरहेकाले आगामी दिनमा पनि शिक्षा, पारदर्शिता, सुरक्षा र नवप्रवर्तनमा लगानी बढाउँदै प्रयोगकर्ताले सुरक्षित र आत्मविश्वासका साथ कन्टेन्ट सिर्जना गर्न, खोज्न र प्रयोग गर्न सक्ने वातावरण निर्माण गरिनेछ।


Read Previous

नेपाल-भारत ऊर्जा सहकार्यमा ऐतिहासिक उपलब्धि, १६५० मेगावाट निर्यात क्षमता बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar