Nepal Purbadhar

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, नेपालगञ्ज-गुलरिया आवागमन सहज हुने


राँझा। बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज-गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकमा कुनै अवरोध आए पनि सवारी आवागमन सहज बनाउन खजुरा गाउँपालिका-३ स्थित आदर्श माध्यमिक विद्यालय, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो।

यो सडक सञ्चालनमा आएपछि हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा बाढी, मर्मत वा अन्य कारणले अवरोध सिर्जना भए पनि नेपालगञ्ज–गुलरिया आवतजावत वैकल्पिक मार्गमार्फत सहज रूपमा गर्न सकिने भएको छ।

प्रदेश सरकारको रु. ६ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि उक्त वैकल्पिक सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

खजुरा गाउँपालिकाले आठवटै वडाका बस्तीलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने अभियानलाई तीव्रता दिएको छ। प्रत्येक टोलसम्म कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने, साथै ढल तथा नालाको निर्माण र स्तरोन्नति गर्दै प्रभावकारी पानी निकासको व्यवस्था मिलाई ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित पूर्वाधार विकासका काम अघि बढाइरहेको गाउँपालिकाले जनाएको छ।


Read Previous

सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको आकर्षण बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड

Read Next

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान सञ्चालन गरिने, संघ-प्रदेश संयन्त्र परिचालन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar