
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र सार्वजनिक यातायात क्षेत्रमा देखिएका ट्राफिक व्यवस्थापन, दुर्घटना, क्षतिपूर्ति र घाइते उपचारलगायतका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलासँग भएको भेटमा मुख्यमन्त्री बानियाँले यातायात व्यवसायीसँग सहकार्य गरेर सार्वजनिक यातायातका बहुआयामिक समस्या समाधानका लागि आवश्यक पहल गरिने बताए।
भेटका क्रममा अध्यक्ष सिटौलाले विशेषगरी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक व्यवस्थापन, सडक दुर्घटनामा मृत्यु हुनेको क्षतिपूर्ति तथा घाइतेको उपचार व्यवस्थापनमा देखिएका समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
सिटौलाले हाल दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रायः महँगा निजी अस्पतालमा गर्नुपर्ने अवस्था रहेको र बीमाबाट अधिकतम तीन लाख रुपैयाँ मात्र क्षतिपूर्ति पाइने भएकाले यातायात व्यवसायी आर्थिक रूपमा मारमा परेको गुनासो गरे।
जवाफमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारअन्तर्गतका अस्पतालमा ट्रमा सेन्टरको विकास गर्दै दुर्घटनामा घाइते भएकाहरूको उपचार सरकारी अस्पतालमै सुनिश्चित गर्ने गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउन पहल गर्ने बताए।
उनले बागमती प्रदेश मुलुकको संघीय राजधानी रहेको र यहाँ देशको ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप रहेकाले सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण भए पनि समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, उचित क्षतिपूर्ति व्यवस्था र प्रभावकारी उपचार प्रणाली विकासका लागि प्रदेश सरकार व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
