Nepal Purbadhar

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठनपछिको पहिलो १०० दिनमा मन्त्रालयले सम्पादन गरेका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्।

मन्त्रालयका अनुसार यस अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, वैदेशिक व्यापार प्रवर्द्धन गर्ने तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका काम अघि बढाइएका छन्।

प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले तय गरेका प्राथमिकतालाई कार्यान्वयन गर्दै मन्त्रालयले पहिलो १०० दिनमै परिणाममुखी काम गरेको बताइन्। देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने तथा आम नागरिकमा सुशासनको अनुभूति गराउने लक्ष्यका साथ मन्त्रालयका गतिविधि केन्द्रित गरिएको उनको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको प्रगति विवरणमा विभिन्न ऐन तथा नियमको परिमार्जन, रुग्ण उद्योग पुनरुत्थानसम्बन्धी कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका प्रयास तथा बजार अनुगमनलाई तीव्रता दिइएका विषय समेटिएका छन्।

मन्त्रालयले सरकारको १०० दिने कार्यकालमा हासिल भएका उपलब्धिको मूल्याङ्कन गर्दै आगामी दिनमा मन्त्रालयका कार्यक्रम र सेवा प्रवाहलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत जनाएको छ।


Read Previous

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

Read Next

खानी क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्न संसदीय उपसमितिको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar