
काठमाडौं । दैनिक अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूमा डिप्रेसन लगायत मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्ने एक नयाँ अध्ययनले देखाएको छ।
अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले सार्वजनिक गरेको अध्ययन अनुसार दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा एक वर्षभित्र मानसिक स्वास्थ्य समस्या बढ्ने सम्भावना उच्च देखिएको छ।
‘अस्ट्रेलियन मेडिकल जर्नल’ मा प्रकाशित उक्त अध्ययन मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब १,२०० सहभागीमा आधारित रहेको जनाइएको छ। सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लाग्नु अघि तथ्याङ्क सङ्कलन गरिएको थियो।
अध्ययनले अनलाइन दुव्र्यवहार, हानिकारक सामग्रीको सम्पर्क र अत्यधिक सामाजिक सञ्जाल प्रयोग मानसिक स्वास्थ्य समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको निष्कर्ष निकालेको छ।
विशेषगरी १२ देखि १३ वर्ष उमेर समूहका केटीहरूमा यसको असर बढी देखिएको अध्ययनमा उल्लेख छ। यद्यपि, दुवै लिङ्गमा मानसिक स्वास्थ्य जोखिम बढेको पाइएको छ।
अध्ययनका प्रमुख लेखक नन्दी विजयकुमारले प्रारम्भिक किशोरावस्था बालबालिकाको विकासका लागि अत्यन्त महत्वपूर्ण समय भएको बताउँदै डिजिटल प्रयोगमा सन्तुलन आवश्यक रहेको बताएका छन्।
त्यसैगरी सह–लेखक प्रोफेसर सुसान सायरले उमेरअनुसार डिजिटल सीमांकन, डिजिटल साक्षरता कार्यक्रम र अभिभावकको मार्गदर्शन सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि एमसीआरआईको अनुसन्धानले करिब तीन चौथाइ अस्ट्रेलियाली किशोरकिशोरीले मानसिक तनाव तथा चिन्ताको अनुभव गर्ने गरेको देखाएको थियो।


