Nepal Purbadhar

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति समीक्षा गर्दै निर्माण कार्यमा ढिलाइ नगर्न आग्रह गरेका हुन्।

उनले कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना द्रुतगतिमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै यसले स्थानीय बासिन्दाको जीवनस्तर सुधारसँगै राष्ट्रिय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा देखिने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए। उनले निर्माण प्रक्रियामा देखिने समस्या तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिए।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गत डोल्पामा १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र १२४.३५ मेगावाट क्षमताको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त आयोजना निर्माणाधीन छन्।

कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतको पनि सहभागिता रहेको थियो। सरकारले यी आयोजना सम्पन्न भएपछि डोल्पासहित कर्णाली क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरेको छ।


Read Previous

एलन मस्कको स्पेसएक्सले आइपिओ जारी गर्ने, विश्वकै ठूलो सेयर विक्री हुनसक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar