Nepal Purbadhar

दुर्गम बस्तीमा डिजिटल पहुँच विस्तार: के गर्दैछ नेपाल टेलिकम ? यस्तो छ प्रगती


काठमाडौं। दुर्गम तथा उच्च हिमाली क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गर्न नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तारलाई तीव्र बनाएको छ। भौगोलिक रूपमा विकट र कम जनसंख्या भएका बस्तीमा समेत मोबाइल तथा इन्टरनेट सेवा पुर्‍याउन हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर काम भइरहेको टेलिकमले जनाएको छ।

सरकारको डिजिटल विभेद न्यूनीकरण गर्ने नीतिअनुसार टेलिकमले फोरजी सेवा विस्तारसँगै फाइभजी तयारीसमेत अगाडि बढाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

नेपाल टेलिकमका अनुसार डोल्पा, ताप्लेजुङ, सङ्खुवासभालगायत हिमाली जिल्लाका विभिन्न स्थानमा हालै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। डोल्पाको लाहाँ, दुनै र थाला डाँडा क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालित टावरबाट उच्च गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरिएको छ। यसबाट हजारौं स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोला, पाथीभरा क्षेत्र र घुन्सामा पनि फोरजी सेवा विस्तार गरिएको छ। कञ्चनजंघा आधार शिविरतर्फ जाने पदमार्गमा समेत मोबाइल नेटवर्क उपलब्ध हुन थालेको छ।

सङ्खुवासभाको मकालु क्षेत्र र भोटखोला गाउँपालिकाका दुर्गम बस्तीमा पनि नयाँ बीटीएस टावर तथा माइक्रोवेभ प्रणाली जडान गरी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ। अत्यन्त कठिन भूगोलका कारण केही स्थानमा टावर निर्माण सम्पन्न गर्न तीन वर्षसम्म लागेको उल्लेख गरिएको छ।

हाल टेलिकमले देशका विभिन्न ३८ दुर्गम स्थानमा स्याटेलाइट प्रविधिमा आधारित मोबाइल सेवा सञ्चालन गरिरहेको छ। डोल्पा, हुम्ला, मुगु, मनाङ, दोलखा, रसुवा, सोलुखुम्बु र दार्चुलालगायत जिल्लाका दुर्गम बस्तीमा स्याटेलाइटमार्फत सेवा प्रवाह भइरहेको छ।

टेलिकमले बाजुराको बडिमालिका क्षेत्र र सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ।

फोरजी सेवा विस्तारसँगै दुर्गम क्षेत्रमा अनलाइन कक्षा, डिजिटल भुक्तानी, इमेल, सामाजिक सञ्जाल तथा अन्य डिजिटल सेवा प्रयोग गर्न सहज भएको छ। यसले शिक्षा, स्वास्थ्य, प्रशासन र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


Read Previous

हिमाल आरोहण गर्न ११८१ जनाले लिए अनुमति, ४९४ विदेशीले सगरमाथा चढ्ने, सवा अर्बभन्दा बढी राजस्वमा टेवा

Read Next

खानीडाँडा–थामखर्क सडक कालोपत्र शुरू, ३० करोड लागत, ११ महिनामा सक्ने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar