
काठमाडौं। यस वर्षको वसन्त याममा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सबैभन्दा धेरै ४९४ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन्। सगरमाथा चढ्न अनुमति लिनेमा सबैभन्दा बढी चीनका १०९, अमेरिकाका ७७ र भारतका ६१ जना रहेका छन्।
यसैगरी, ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजंघाका लागि ३६ र धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन्।
हिमाल आरोहण अनुमति शुल्कबाट सरकारले हालसम्म एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यसमध्ये सबैभन्दा धेरै एक अर्ब सात करोड रुपैयाँभन्दा बढी राजस्व सगरमाथाबाट उठेको विभागले जनाएको छ।
डोरी टाँग्ने र मार्ग निर्माणको काम पूरा भएसँगै वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको छ। पछिल्ला वर्षहरूमा नेपालका हिमालप्रति विदेशी आरोहीको आकर्षण बढ्दो क्रममा रहेको छ।
