
काठमाडौं । सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त लक्ष्य हासिल गर्न ऊर्जा क्षेत्रमा नीतिगत तथा संरचनात्मक सुधार गरिने उल्लेख गरिएको छ। सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राम चन्द्र पौडेलले लक्ष्य प्राप्तिका लागि ऊर्जा बन्ड निष्कासन गरिने तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताए।
नीति तथा कार्यक्रममा ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाइने उल्लेख छ। साथै अन्तरदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौतामार्फत दीर्घकालीन लगानी आकर्षित गर्ने सरकारको योजना रहेको छ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा लघु जलविद्युत् आयोजना, सौर्य तथा वायु ऊर्जाको विस्तारलाई प्राथमिकतामा राखिने पनि कार्यक्रममा उल्लेख गरिएको छ।
