
काठमाडौं । सरकारले सुमनराज अर्याल नयाँ मुख्य सचिव नियुक्त भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषको बैठकले उनलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
रक्षा सचिवका रुपमा अर्याल कार्यरत थिए ।
हालका मुख्य सचिव एकनारायण अर्याल भोली राती १२ बजेदेखि रिटार्यड हुँदैछन् ।
को हुन अर्याल ?
निजामति सेवामा अर्यालको यात्रा २०५३ साल वैशाख १९ गते केन्द्रीय तथ्याङ्क विभागमा शाखा अधिकृतको रुपमा प्रवेश गरेका अर्यालले सचिवमा बढुवा हुनु अघि सोही विभागमा महानिर्देशक सम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
अर्याल महानिर्देशक भएकै बखत केन्द्रीय तथ्याङ्क विभागले इतिहासमै पहिलो पटक आर्थिक गणना सम्पन्न गरेको थियो । अर्याल आर्थिक योजना तथा तथ्याङ्क सेवामा प्रवेश गरी नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो प्रशासक हुन् । सचिवमा बढुवा भएपछि अर्यालले सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
अर्यालको त्यसपछि क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय योजना आयोगमा सरुवा भएको थियो । अर्याललाई कर्मचारीवृत्तमा अनाकर्षक मानिने निकाय तथा मन्त्रालयहरूमा पटक पटक पदस्थापन गरिएपनि सबै ठाउँमा दबाब तथा प्रभावबाट मुक्त भई उनले इमान्दारी सहित उत्कृष्ट कार्य सम्पादन गरेको अर्यालसँगै काम गरेका कर्मचारीहरू बताउँछन् । सचिवको रुपमा सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्यालले कठोर आर्थिक अनुशासन कायम गरेका थिए । कोशी प्रदेशको प्रमुख सचिवको हैसियतमा पनि अर्यालले कुशलतापूवर्क कार्यसम्पादन गरेका थिए । महालेखा नियन्त्रकको रुपमा अर्यालले चर्को दबाबका बाबजुद इतिहासमै भुक्तानी प्रणालीलाई अत्यन्त व्यवस्थित बनाएका थिए ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको अवधिमा उनले सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम तर्जुमा समिति संयोजकको रुपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहँदा उनले सरकारी, गैरसरकारी संस्थालाई
जथाभावी दिइँदै आएको अनुदानमा कडाइ गरेका थिए ।
युवा तथा खेलकूद मन्त्रालय मार्फत उनले राष्ट्रिय खेलकुद परिषद्को विकृति, विसङ्गतिको अन्त्यको प्रयास गरेका थिए । राष्ट्रिय योजना आयोगमा रहँदा उनले मुलुक सुहाउँदो १५ औं राष्ट्रिय योजनाको खाका तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । हाल कार्यरत प्राय सबै सचिवहरूपनि मुख्य सचिवको रुपमा अर्याल नियुक्त विधि, प्रक्रिया र योग्यता सबैको उचित सम्मन हुने बताउँछन् । मुख्यसचिव नियुक्त भएमा अर्याल करीब ८ महिना (२०८३ असार २५ सम्म) उक्त पद रहनेछन् ।









