
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण (Electromechanical Equipment) आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।

उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटाली (Troyer AG, Italy) लाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउनेछ ।

लगानी करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) estimated गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएको कारण उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ ।








