
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू आदेश जारी रहने जानकारी दिएको छ।
सेनाको मुख्यालय जंग्गीअड्डाबाट जारी गरिएको विज्ञप्ति अनुसार, भोलि भदौ २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। त्यसपछि साँझ ७ बजेदेखि रातभर कर्फ्यू आदेश जारी गरिएको छ।
सेनाले बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न अनुमति दिइने स्पष्ट पारेको छ।
यो सुरक्षा व्यवस्था पछिल्ला दिनहरूमा जेनजी युवाहरूको प्रदर्शन उग्र बन्दै गएका कारण लागू गरिएको हो। गत सोमबार र मंगलबार उपत्यकामा भएको प्रदर्शन हिंसात्मक बनेपछि देशभरका विभिन्न क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको छ।
प्रदर्शनका क्रममा भएको झडप र तोडफोडपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका छन्। सेना र सुरक्षाकर्मीहरूले जनताको सुरक्षालाई ध्यानमा राखी संयमित रूपमा अवस्था नियन्त्रणमा लिने प्रयास जारी राखेको बताइएको छ।