
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा प्रवेश गर्ने भएका छन् ।
देश दौडाहा सकेर उनी विदेश भएका नेपालीहरुसँग भेट्ने भएका छन्। त्यसैका लागि उनी विदेश भ्रमणमा निस्केका छन् । बहराइन, ओमान,युएई र कतारमा रहेका नेपालीहरुसँग भेट्न लागेका हुन् । त्यहाँ ठूलो संख्यामा नेपालीहरु छन् । उनले नेपालीहरुसँगको भेटमा जीवन, संघर्ष र सपना बुझ्ने तथा अनुभवहरु साट्ने बताएका छन् ।
उनले आफू राजनीतिमा पनि आउन सक्ने बताएका छन् । उनको यो विदेश भ्रमणपछि धेरैले नयाँ पार्टी खोल्न लागेको बताएका छन् ।
उनले नेपाल विद्युत प्राधिकरण सम्हालेपछि १८ घण्टाको लोडसेडिङ अन्त्य भएको थियो । लोडसेडिङ अन्त्य गरेपछि उनी चर्चामा आएका थिए । १८ घण्टासम्मको लोडसेडिङ खेपिरहेका आम मान्छेले उनलाई चिन्न थालेका थिए ।
पहिलो कार्यकालमा लोडसेडिङको अन्त्य गरेका घिसिङले दोस्रो कार्यकालमा शतप्रतिशत विद्युतीकरण गर्ने योजना बनाएका थिए । सबैले ग्रीडको बिजुली बाल्न पाउनुपर्छ भन्ने उनको भनाइ र योजना थियो । ९८ प्रतिशतमा विद्युतीकरण भइसकेको छ । उनलाई दोस्रो काल पूरा गर्न केहि महिना बाँकी छदै सरकारले बर्खास्त गरेको हो ।
देश र जनताका लागि रातदिन काम गरेकोमा सम्मान गर्नुको साटो बर्खास्त गरेको भन्दै सरकारसँग घिसिङ रुष्ट भएका थिए । सरकारले बर्खास्त गरेपछि पत्रकार सम्मेलन गरेर उनले राजनीतिमा आउन सक्ने संकेत गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–
मध्यपूर्वी देशहरु(GCC )मा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।
तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।
देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।