
काठमाडौं । सम्राट सिमेन्ट प्रालिको व्यापारमा भारी गिरावट आएको छ ।
२०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँ को व्यापार गरेको कम्पनीको व्यापार त्यस यता निरन्तर घट्दै गएको छ ।
२०२३ मा कम्पनीले ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२४ मा कम्पनीले १ अर्ब ७७ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीको व्यापारमा अघिल्लो वर्षको तुलनामा २०२४ मा ४८ प्रतिशतले गिरावट आएको हो ।
व्यापारमा भारी गिरावट आईरहँदा कम्पनीको पिबिईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) भने केही सुधार भएको छ । २०२२ मा कम्पनीको मार्जिक २१.१३ प्रतिशत रहेकोमा २०२३ मा गिरावट भएर २०.६४ प्रतिशतमा सिमित भएको थियो । २०२४ मा कम्पनीको मार्जिन २१.४१ प्रतिशत पुगेको छ ।
सन् २०१३ मा सञ्चालनमा आएको कम्पनीको ७६ प्रतिशत स्वामित्व सिजि ग्रुपसँग रहेको छ । कम्पनीका पाँच बोर्ड सदस्यमध्येमा दुई जना चौधरी ग्रुपका निमार्ण चौधरी र बरुण चौधरी रहेका छन् । कम्पनीको अध्यक्षमा भने विगत २५ वर्षदेखि सिमेन्टको क्षेत्रमा अनुभव बटुलेका अनिल कुमार रुंगटा रहेका छन् ।
सम्राट सिमेन्ट प्रालिले २०२२ देखि वर्षेनी ३६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ भने २०२१ देखि ४ हजार मेट्रिक टन प्रति वर्ष क्लिंकर उत्पादनको क्षमता बिस्तार गरेको छ । दाङमा रहेको उद्योगबाट कम्पनीले गजराज, सम्राट, गजराज प्रिमियम, बाजलगायत नामका पिपिसि र ओपिसि सिमेन्टको उत्पादन गर्दै आएको छ ।
हालका लागि भने कम्पनीले १२ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ कम्पनी केयर रेटिङ नेपालले कम्पनीलाई १० अर्ब १४ करोड ४७ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र २ अर्ब ३५ करोड ९ लाख रुपैयाँको अल्पकालिक रक्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।