Nepal Purbadhar

१०६ मेगावाटको जगदुल्ला हाइड्रोको ठेक्का यी दुईमध्ये एक कम्पनीले पाउने पक्का


काठमाडौं । १०६ मेगावाट जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि निकालिएको ठेक्कामा २ कम्पनी प्राविधिक प्रस्तावमा पास भएका छन् । आवेदन दिएका ४ मध्ये २ कम्पनी प्राविधिक प्रस्तावमा पास भएका हुन् ।

जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनएनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेभी र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावमा पास भएका हुन् । यी दुई मध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनी ठेक्का पाउनेछ ।

बैशाख २४ गते बुधबार वित्तिय प्रस्ताव खोल्ने तयारी गरिएको छ ।

सीईओ सञ्जय सापकोटा

ठेक्का पाएपछि निर्माणको जिम्मा पाउने कम्पनीले काम सुरु गर्नेछ । जगदुल्ला जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले अब निर्माण अघि बढ्ने बताए । उनले समयमै निर्माण सक्ने गरी काम गर्न कम्पनी तयार रहेको बताएका छन् । यो सिभिल संरचना र हाइड्रोमेकानिकल तर्फको ठेक्का हो ।

गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालेको थियो । उक्त ठेक्कामा आवेदन दिएका सबै कम्पनीले प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्ध गर्नु परेको हो । कम्पनीका अनुसार ७ कम्पनीले आवेदन दिएका थिए । मूल्यांकन गर्ने क्रममा सबै कम्पनी फेल भएपछि ठेक्का रद्ध गरिएको हो ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । यी दुई आयोजना कर्णालीमा बन्ने भएकाले त्यहाको विकासका लागि महत्वपूर्ण छन् ।


Read Previous

वायु प्रदुषण घटेपछि सफा देखियो काठमाडौं, देखिन थाल्यो हिमाल

Read Next

भारतीय विद्युत मन्त्री खट्टर नेपाल आइपुगे, के के हुँदैछ सम्झौता ?

Nepal Purbadhar