Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा


दमौली । निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाकाे विद्युत प्रवाह हुने दमाैली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण ७३ प्रतिशत सकिएको छ । तनहुँ आयोजनाको तेस्रो प्याकेजअन्तर्गत  निर्माणाधीन प्रसारण लाइन अन्तिम चरणमा पुगेकाे हाे ।

याे प्रसारण लाइन २०८१ पुस ४ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । विविध कारणले प्रसारण लाइन निर्माणकाे गति तालिकाअनुसार हुन नसकेकाे आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार निरन्तर रुपमा काम गर्न पाएको भए यो प्याकेजको काममा अझै प्रगति हुनुपर्ने थियाे ।

केइसी इन्टरनेसनल, भारतले दमौलीदेखि चितवनको भरतपुरसम्म ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त नहुँदा सम्झौता म्याद थप गरिएको छ ।

“वनको नीतिगत समस्याका कारण काममा ढिलाइ भयो, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ हटाउँदै कामलाई तीव्रता दिन ऊर्जा मन्त्रालयले सहमति गरेकाले काम अगाडि बढेको छ ,”उनले भने ।

प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको भण्डारीले जानकारी दिए । उनका अनुसार ३ वटा टावरको जग हाल्ने र ४ वटा टावर राख्ने काम जारी छ । १८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । चार स्थानमा काम भइरहेको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।
आयोजनाको प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३०.५ प्रतिशत प्रगति भएको छ । यस प्याकेजको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । प्याकेज-२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा ५४ प्रतिशत प्रगति भएको छ । यो प्याकेजको निर्माण सिनो हाइड्रोले गरिरहेको छ ।

प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा) लि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता २०७८ भदौ १४ गते भएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा परिचालित भई काम गरिरहेको छ । आयोजनाको महत्वपूर्ण काम बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सीमा भएर बग्ने सेती नदीलाई  १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने काम महत्त्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो ।

अब मुख्य बाँध निर्माण अवधिसम्म नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिनेछ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पु-याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर छ जसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


Read Previous

ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव

Read Next

नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *