
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुस्त बनेकाे छ । वन क्षेत्रकाे रुटकाे रुख विरुवा कटान अनुमति पाउन समय लाग्दा आयोजनाको प्याकेज–३ अन्तर्गत निर्माणीन करिब ३७ किलाेमिटर प्रसारण लाइनकाे कामले गति पाउन नसकेकाे हाे ।
करिब ६ महिनादेखि प्रसारण लाइनकाे निर्माण सुस्त हुन पुगेकाे आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार वन क्षेत्र नपर्ने स्थानमा मात्रै काम हुन सकेकाे छ । दमाैलीदेखि चितवनसम्म प्रसारण लाइन निर्माण भइरहेकाे छ ।
ठेक्का सम्झौताकाे समय एक वर्ष बाँकी रहँदा अहिलेसम्म प्रसारण लाइन निर्माणकाे भाैतिक प्रगति ७० प्रतिशत पुगेकाे शिल्पकारले बताए । प्रसारण लाइन निर्माणका लागि भारतकाे केइसी इन्टरनेसनल लिमिटेडसँग गरेकाे ठेक्का सम्झाैता सन् २०२४ काे डिसेम्बर १९ मा सकिँदैछ ।
सुरुवातमा ठेक्का सम्झाैता हुँदा याे प्रसारण लाइन सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकाे थियाे । तर, कोभिड–१९ महामारी तथा वन तथा वातावरण मन्त्रालयबाट वन क्षेत्रका रुख विरुवा कटानको स्वीकृति प्राप्त हुन समय लागेका कारण तालिका अनुसार प्रसारण लाइन सम्पन्न हुन नसकेकाे र म्याद थप गरेर २०२४ काे डिसेम्बर पुर्याइएकाे शिल्पकारले बताए ।
“अहिले वनको नीतिगत समस्याका कारण काममा ढिलाइ भएको हो । समस्या समाधान गर्दै अगाडि बढ्ने प्रयत्न भइरहेको छ, डिभिजन वन कार्यालय तनहुँबाट भने पूर्णरूपमा सहयोग पाएका छौं ,” उनले भने ।
नीतिगत समस्या हटेर पूर्णरूपमा काम गर्न पाएको भए अझै धेरै प्रगति भइसक्ने शिल्पकारको भनाइ थियो । उनका अनुसार केही समय रोकिएको उक्त प्याकेजको काम अहिले सुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै, ३३ टावर जडानकार्य सकिएको छ । हालसम्म ९८८.३ मिटर तार तान्ने काम सकिएको छ ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।
आयोजनाले प्याकेज १, २ र ३ मा हालसम्म ४६ प्रतिशत प्रगति हासिल गरेको छ । प्याकेज–१ मा २५, प्याकेज–२ मा ४७ र प्याकेज–३ मा ६९ प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणको काम सुरु भएको छ ।
आयोजनाको सुरुङ, विद्युतह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
								
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    








