Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ संविधान दिवस ३ असोजदेखि सञ्चालनमा


काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुनेभएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का बिषयमा छलफल गरेका थिए । ‘छलफलपछि ३ असोजमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने ।

‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि शुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिए । ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिए । ‘अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोली २६ भदौदेखि शुरु गर्छाै ।’

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन शुरु हुनेभएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अबस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो । करिव ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।

विहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्। यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का बिषयमा केहि आशंकाहरु उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने ।

अहिले विहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुनेभएको छ । विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।


Read Previous

“२ लाख रुपैया“को अनुदानसहित कुसोमले गर्यो अनुसन्धानका लागि आह्वान

Read Next

सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छः उपराष्ट्रपति यादव

Leave a Reply

Your email address will not be published.