Nepal Purbadhar

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन


म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम शुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडक अन्तरर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन वि. सं. २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।

मालिकाको ५ र धवलागिरिको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच एक करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । वि. सं. २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिएको थियो । दोस्रो पटक थपिएको सम्झौताको म्याद आगामी मङ्सिरसम्म छ । पुल निर्माण सुरुनै नभएको धवलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

“धवलागिरिको केन्द्रसहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ,” उनले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ ।” फेदीमा धवलागिरि गाउँपालिकाले विस २०७५ मा अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । हरेकजसो बर्खामा बाढीले अस्थायी पुलपुर्ने र पन्छ्याएर यातायात सञ्चालन गर्ने गरिएको छ ।

फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरिको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको फेदीका बासिन्दा रिमप्रकाश थापाले बताए । “पुल बनाउने हो भने बनाइहाल्नु पर्यो, नभएर नयाँ प्रक्रियाबाट निर्माण गर्नुपर्याे,” उनले भने, “ठेक्का कायमै रहने, पुल नबन्ने, जनताले दुःख पाउने भयो ।” २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए ।

Facebook Comments

Read Previous

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

Read Next

केन्द्रीय सडक सञ्जाल निर्माणः विगतदेखि वर्तमानसम्मको समीक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar