Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया


काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम सकिन लागेको हो ।

सिभिल र हाइड्रोमेकानिकलतर्फको सम्पूर्ण काम सम्पन्न भई अहिले इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगेको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । ‘विद्युतगृहमा पहिलो र दोस्रो युनिट जडान गर्ने कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब तेस्रो युनिट जडान गर्न बाँकी छ, यो काम पनि एक सातामा सम्पन्न गर्दैछौं ।’

न्यौपानेले भौगोलिकरूपमा विकट दार्चुलामा आयोजना निर्माण गर्दासमेत लक्ष्यभन्दा करिब ९ महिना अगाडि नै प्रसारण प्रणालीमा जोड्ने गरी काम गरिरहेको बताए । उनका अनुसार विद्युतगृहमा तेस्रो युनिट जडान सकिए लगत्तै उपकरणहरूको परीक्षण (ड्राइ टेष्ट) सुरु हुनेछ ।

ड्राइ टेष्ट जेठ पहिलो साताबाट सुरु गरिने पनि उनले जानकारी दिए । ड्राइ टेष्ट सकिएपछि संरचनामा पानी भरेर परीक्षण गरी प्रसारण प्रणालीमा जाेडिने कम्पनीले जनाएकाे छ । जेठभित्र उत्पादन सुरु गर्ने तयारी रहेकाे उनले बताए ।

‘नेपाल विद्युत प्राधिकरणले दिएको तालिका अनुसार त हाम्रो आयोजना आगामी फागुनभित्रमा सम्पन्न गर्नुपर्ने लक्ष्य छ । तर, हामीले कोभिड–१९ महामारीको समयमा समेत निर्माणलाई गति दिएकाले लक्ष्यभन्दा अगाडि नै आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न लाग्दैछौं’, उनले भने ।

यो आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणले दार्चुलाको बलाँचमा निर्माण गरेको १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । बलाँचबाट १३२ केभी प्रसारण लाइनमार्फत कैलालीकाे अत्तरिया सबस्टेसन पुर्याइनेछ ।

कम्पनीले बलाँचसम्म आवश्यक १६ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरेको छ । प्रसारण लाइनको टावर ठड्याउने काम सम्पन्न भई तार तान्ने काम पनि सकिन लागेको न्यौपानेले बताए । उनले आयोजना विद्युत उत्पादनको चरणमा पुगेपनि बलाँच–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट चार्ज हुन बाँकी रहेकाले बर्खाको विद्युत खेर जाने हाे कि भन्ने चिन्ता बढेको बताए ।

विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा लामो समयदेखि स्थानीय अवरोधले अवरुद्ध प्रसारण लाइनको दोस्रो सर्किटको निर्माण भर्खरै पूरा गरेको छ । दोस्रो सर्किटको काम सकिएपछि अहिले ठेकेदारले लाइनको पेट्रोलिङ गरिरहेको आयोजना प्रमुख अनिल अधिकारीले जानकारी दिए ।

‘हामीले प्रहरी प्रशासनको सहयोगमा ४ वर्षदेखि अवरुद्ध दोस्रो सर्किट तान्ने काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘धेरै काम पहिले नै सम्पन्न भएकाले अहिले लाइनको पेट्रोलिङ गर्ने काम भइरहेको छ ।’ उनले प्रसारण लाइनको रुटमा बढेका केही रुख विरुवा कटान गर्नुपर्ने कारणले पनि दोस्रो सर्किट चार्ज गर्न बढीमा डेढदेखि २ महिना लाग्ने देखिएकाे बताए ।

रुख विरुवा कटानका लागि सामुदायिक वनहरूसँग समन्वय गर्नुपर्ने हुँदा तत्कालै जार्च गर्न नसकिएको उनले स्पष्ट पारे । यो प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत प्रवाह गर्नुपर्ने हुँदा विद्युत प्राधिकरणलाई पनि चाँडै चार्ज गर्नुपर्ने दवाब छ ।

दुर्गम क्षेत्रमा पुगेर आयोजना निर्माण गर्दा समेत प्रसारण लाइनको समस्याले विद्युत खेर जाने अवस्था आउनु दुखःद भएको न्यौपानेको भनाइ छ । उनले प्राधिकरणले गम्भिरता देखाएर दोस्रो सर्किट चाँडोभन्दा चाँडो चार्ज गर्नुपर्नेमा जोड दिए ।

‘बर्खा लाग्न लागेकाले विद्युतगृह पूर्ण क्षमतामा चल्ने बेला आउँदैछ, यो बेलाको विद्युत खेर जान नदिन दोस्रो सर्किट चाँडै चार्ज गर्ने प्रबन्ध प्राधिकरणले मिलाउनु पर्छ । खेर जाने अवस्था नआउँदा अत्तरिया आइपुगेको विद्युत टनकपुर विन्दुबाट निर्यात गर्न सकिन्छ’, न्यौपानेले भने ।

गत वर्ष बर्खामा पनि भएकाे प्रसारण लाइनले सबै लाेड नलिएका कारण विद्युत खेर गएकाे थियाे । याे वर्ष कालंगा बेसिनका आयोजना पनि बलाँचमा जाेडिएकाले दाेस्राे सर्किट चार्ज नभए ठूलाे परिमाणमा विद्युत खेर जाने अवस्था आउने उनकाे दाबी छ ।

माथिल्लो चमेलिया अपि पावरले दार्चुलामा निर्माण गरिरहेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् ।

माथिल्लो चमेलिया आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्मको अवस्थाले निर्धारित लागतभित्रै आयोजना सम्पन्न गर्न सम्भव देखिएको न्यौपानेले बताए ।

आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य लगायत ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत लगानी स्वपुँजी (इक्विटी) हो ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्न सकिनेछ । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले सौर्य ऊर्जामा समेत लगानी गरी धनुषा, रौतहट र बाराको सिमरामा गरी ३ सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ ।

कम्पनीले प्रसारण प्रणालीमा जोडेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ६ मेगावाट छ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले हरित हाइड्रोजनमा पनि लगानी गर्दैछ । विभिन्न जिल्लामा ५० मेगावाटका हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ ।


Read Previous

खानेपानीकाे पहुँच पुर्याउन ‘लिफ्टिङ’ गरेर पानी ल्याइँदै   

Read Next

अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

Leave a Reply

Your email address will not be published.