
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय क्षेत्रले देशको औद्योगिक विकासमा लगानी गरी देशभित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने बताइन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाको अवसरमा आइतबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिकरण विकासमा लगानी बढाउनु पर्नेमा जोड दिएकी हुन् ।
उनले औद्योगिकरण विकासमा वित्तीय क्षेत्रले लगानी बढाउन सकेमा स्वदेशी उत्पादन बढ्न गई स्वतः रोजगारीको अवसर खुल्ने बताइन् । ‘परिसंघमा आबद्ध बैंक तथा वित्तीय संस्थाले देशको अर्थतन्त्रमा योगदान पुग्ने गरी राम्रो काम गरिरहेका छन्,’ उनले भनिन्,‘विश्व विद्यालयहरूसँग मिलेर काम गर्ने हो भने पनि वित्तीय क्षेत्रका लागि दक्ष जनशक्ति तयार गर्न सहयोग पुग्नेछ ।’ राष्ट्रपति भण्डारीले उद्यमशिलताको प्रवर्द्धन नै आयात प्रतिस्थापन गरी देशलाई आर्थिक स्थायित्व दिन सकिने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री एवं अर्थसास्त्री डा.युवराज खतिवडाले पछिल्लो १ दशकमा बैंक तथा वित्तीय क्षेत्रले ठूलो फड्को मारेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको क्षमता बढ्दै गइरहेकाले बैंकमा राखेको पैसा डुब्दैन भन्ने विश्वास सर्वसाधारणमा बढेको बताए ।
‘एक दशकलाई फर्केर हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाको लगानी गर्ने क्षमता धेरै गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकको सहज नीतिका कारण आज आएर बैंक तथा वित्तीय संस्थाको स्तरोन्नति सम्भव भएको छ’ उनले भने । बैंकको पुँजी वृद्धि गर्नका लागि चालू वर्षमा ६ वटा बाणिज्य बैंकहरू गाभिन लागेको पनि उनले बताए ।
वित्तीय साक्षरणका कारण अहिले साढे ४ करोड बढी बैंक खाताहरू खोलिएको उनको भनाई छ । उनले पछिल्लो एक दशकमा बैंकहरूले ऊर्जा क्षेत्रमा गरेको लगानी २३ गुणा बढेर २ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको खतिवडाले बताए । कार्यक्रममा देशको आर्थिक क्षेत्रमा ३ दशकसम्म योगदान गरेको कदर स्वरुप सिबिफिनले खतिवडालाई सम्मान गरेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अहिले निर्माण व्यवसायलाई स्थायित्व दिने काममा सबैभन्दा बढी चुनौती रहेको बताए । उनले विश्वले नै आर्थिक झेलिरहेकाले मूल्यस्थिरता कायम गर्न कठिनाई भइरहेको बताए । ‘वित्तीय क्षेत्रको अवस्था स्थिर गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । यति नहुँदासम्म अर्थतन्त्रलाई स्थिर राख्न सकिँदैन’ उनले भने ।
								
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    








