Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू


काठमाडाैं । साना कोठे बैठकदेखि ठूला सम्मेलनहरूमा लामो समयदेखि बहस हुँदै आएको विषय हो–पूर्वाधार परियोजनाहरू समयमै नबन्ने समस्या। सरकार र निर्माणकर्ताको सबैभन्दा बढी आलोचना हुने विषय पनि यही नै हो । संचारमाध्यमहरूका लागि समाचारको ठूलै प्राथमिकतामा पर्छन् यस्ता परियोजना । परियोजना भन्ने बित्तिकै समयमा बन्दैनन् भन्ने आम भास्य ( जनरल न्यारेटिभ) स्थापित भैसकेको छ समाजमा ।

के नेपालमा समयमै परियोजना बनेका छैनन् त ? छन्, तर सीमित संख्यामा । नेपालमा तोकिएकै समयमा सम्पन्न हुने ‘भाग्यमानी’ परियोजना भने दुर्लभ  छन् । यस्ता परियोजनाका सफलताका कथा भने ओझेलमा पर्ने गरेका छन् । यी पूर्वाधार परियाेजनाकाे संख्यामात्र कम भएको होइन, चर्चा पनि विरलै सुनिन्छ । बजेट विनियोजन भएर पनि ९० प्रतिशत परियोजना तोकिएको समयमा पूरा भएका छैनन्’ प्रायः पूर्वाधारविद्हरूको भनाइ यही छ ।

सुमन शर्मा, पूर्वाधार नीति विज्ञ तथा पूर्व सचिव

‘समस्या समयमै समाधान गरेका र निर्माण सामग्रीको सहज उपलव्धता भएका परियोजनाहरू छिटो सम्पन्न भएको देखिन्छ’ 

पूर्वाधार परियाेजना चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीको क्षमता र दक्षता, कामको लोड, निर्माण परियाेजनाको अनुगमन गर्ने र विवाद समयमै समाधान गरी कामलाई ढिलाइ हुनै नदिने गरी खट्ने कर्मचारीतन्त्रको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।  ‘यी विषयलाई समयमै समाधान गरेका र निर्माण सामग्रीको सहज उपलव्धता भएका परियोजनाहरू छिटो सम्पन्न भएको देखिन्छ’ पूर्वाधार नीति विज्ञ तथा पूर्व सचिव शर्मा भन्छन् ।

सरकारको उच्च प्राथमिकतामा परेका राष्ट्रिय गौरवका परियोजना समेत समयमा सम्पन्न भएको एउटा पनि उदाहरण छैन । तर, त्यसोभन्दैमा अहिलेसम्म एउटा पनि परियोजना समयभन्दा पहिले सम्पन्न नभएको भने होइन ।  तोकिएको समयभन्दा पहिला नै निर्माण सम्पन्न भएका केही प्रतिनिधिमूलक अपवाद्का यस्ता परियोजना भने  थोरै छन् । ती अपवाद्का परियोजनामध्येका केहीको अनुभवबाट अन्य परियोजनाले पनि सिक्न सक्छन् ।

बाँके बर्दिया जोड्ने कर्णाली नदी पुल

बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीको भँगालोमा पर्ने गेरुवा नदीमा निर्मित १ हजार १५ मिटर को पुल समयअघि नै सम्पन्न भएको परियोजनामा पर्छ । बाँकेबाट बर्दिया आवतजावत गर्नेहरूको लागि महत्त्वपूर्ण यो पुल तोकिएको समयावधिभन्दा ६ महिनाअघि नै सम्पन्न भएको थियो । कूल १ अर्ब १७ करोड रुपैयाँ लागतको याे पुलको निर्माण ६० महिनामा सक्नुपर्नेमा ५४ महिनामा नै सकिएको थियो । २०६७ कात्तिक १६ देखि निर्माण थालेर १५ असार २०७१ मा सम्पन्न गर्नुपर्ने थियो । तर, छिटो काम हुँदा २०७१ माघ महिनामै काम सम्पन्न भएको थियो ।

अनक, लुम्बिनी र टुँडी कन्स्ट्रक्शन जेभीले निर्माण गरेको दोहोरो लेनको यो पुलको चौडाई ९ मिटर २० सेण्टिमिटर छ । पुलमा फुटपाथको व्यवस्था समेत गरिएको छ । यो पुल निर्माणपछि त्यस क्षेत्रका १ लाख ५० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ‘यो पुल छिटो सम्पन्न हुनुमा परियोजना प्रमुखको सहयोग, निर्माण सामाग्रीको सहज उपलब्धता मूख्य कारण थियो’ पुल निर्माणमा संलग्न टुँडी कन्स्ट्रक्शनका अध्यक्ष ऋषिप्रसाद सुवेदी भन्छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले यो पुलको उद्घाटन गरेका थिए । राजापुर नगरपालिका वरपर रहेकाको लागि महत्त्वपूर्ण यो पुल प्रि–स्ट्रेट प्रविधिमार्फत निर्माण गरिएको हो ।

भेरी-बबई डाइभर्सन परियोजना

करिब १२ किलोमिटर लामो सुरुङ मार्फत भेरीको पानी बबइमा मिसाउने यो परियोजना पनि समय अगाडि नै सम्पन्न भएको हो । राष्ट्रिय गौरवको भेरी –बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाको पानी डाइभर्ट गर्न निर्माण गर्नुपर्ने सुरुङ तोकिएभन्दा छिटो सम्पन्न भएको छ। कूल १२.२१० किलोमिटर सुरुङ निर्माणको काम अपेक्षा गरिएभन्दा छिटो सकियो । ठेक्का सम्झौताअनुसार १५ चैत २०७६ मा सम्पन्न हुनुपर्नेमा ३ बैशाख २०७५ मै बबई नदी छेउको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्मको सुरुङ छिचोल्ने (ब्रेक थ्रु) काम पूरा भयो । यति मात्र होइन, सुरुङलाई सुरक्षित बनाउनेलगायतका सम्पूर्ण काम १७ भदौ २०७७ मा सम्पन्न भयो । यो सुरुङको प्रयोग भेरी नदीको पानी बबई नदीमा खसाल्नको लागि हुनेछ ।

चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले सुरुङमार्ग निर्माणको जिम्मा लिएको थियो । यो कम्पनीसँग १६ माघ २०७१ मा ठेक्का सम्झौता भएको थियाे । परियोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १९ चैत २०७१ मा गरेका थिए । सुरुङ निर्माण २० कार्तिक २०७४ देखि थालिएको थियो । सुरुङ निर्माणको लागि नेपालमै पहिलो पटक अत्याधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको थियो । सुरुङको चौडाइ भने ५ दशमलव ६ मिटर रहेको छ । सुरुङमार्गबाट भेरीको पानी प्रतिसेकेन्ड ४० घनमिटरको दरले बबई नदीमा खसालिने छ । यो सुरुङ १० अर्ब ५६ करोड ९७ लाख रुपैयाँमा निर्माण भएको हो ।

दाङको राप्ती पुल ग्वारखोला पुल

दाङ जिल्लाको देउखुरीस्थित राप्ती नदीमा निर्माण भएको पूल पनि समयमै सम्पन्न भएका परियोजनाको सूचीमा पर्छ ।  तोकिएको भन्दा चार महिनाअघि अर्थात २०७७ कात्तिकमा सम्पन्न यो पुलले राप्ती गाँउपालिकाको सिसहनिया र गढवा गाँउपालिकाको महादेवा जोड्छ ।

यो पुलको ठेक्का एएनके लुम्बिनी वाइपी जेभीले लिएको थियो । पुलको लम्बाई आठ सय ६० मिटर र चौडाई साढे १० मिटर छ । २२ मंसिर २०७३ मा शिलान्यास भएको यो पुलको निर्माण कार्य पूरा गर्ने सम्झौता आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म थियो ।

करिब १ अर्ब रुपैयाँ लागतको यो पुल ६० महिनाभित्र निर्माण सक्ने सम्झौता थियो । निर्माण कार्य आर्थिक वर्ष २०७२/०७३ देखि सुरु भएको थियो । पुलको उद्घाटन भने २०७७ माघमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

दाङ जिल्लाकै घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत ग्वारखोलाको पुल पनि सम्झौताको मितिभन्दा पहिले नै सम्पन्न हुने परियोजना हो । तोकिएको समयभन्दा विविध कारणले २०७४ माघदेखि यो पुल निर्माण थालिएको थियो । जबकि २०७४ बैशाखदेखि काम थाल्नुपर्ने थियो । परियोजनाको काम ढिलो शुरु गरे पनि सम्झौता भन्दा ६ महिना अघि नै सकिएको हो। कालिका रसुवा जेभीले निर्माणको जिम्मा पाएको ग्वारखोलाकै कपडादेवी–जहदा गाउँ जोड्ने पुल र घोराही–तुलसीपुर सडकमा पर्ने दुवै पुल निर्माणका लागि ४७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यही बजेटले दुवै पुल निर्माण भएका हुन् । ती पुलको लम्बाई दुई/दुई सय मिटर छ ।

ओराही खोला पुल

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय रहेको ठाकुरद्वारा ओहोर–दोहोर गर्ने ओराही खोलाको पुल पनि समयभन्दा पहिला नै सम्पन्न भएको परियोजनामा पर्छ । यो पुल तोकिएको समयभन्दा ९ महिना पहिला सम्पन्न भएको थियो । कुल ९ करोड ९६ लाख रुपैयाँमा बनेको  यो पुल २०७४ साउनमा ठेक्का लागेको हो । पुल असार २०७७ भित्र निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यो समयभन्दा अघि नै सपना गाल्वा जेभीले पुलको निर्माण सम्पन्न गर्यो ।

कमला नदी पुल र मरिण नदी पुल 

सिन्धुली जिल्लामा २०७७ साउनमा २ वटा पुल तोकिएको समयभन्दा पहिले नै सम्पन्न भए । ती पुल परियोजना, मध्यक्षेत्र सेक्टर नम्बर २ अन्तर्गत निर्माण गरिएका हुन् । जिल्लाको दुधौली नगरपालिका–६ हर्षाही–जगाडि र वडा नं.५ सिर्थौली–खनिया जोड्ने कमला खोलामा निर्माण गरिएको पक्की पुल सम्झौता अवधिभन्दा १ वर्ष अगाडी नै सम्पन्न भयो ।  कमला खोलामा निर्माण गरिएको ५ सय मिटर लामो पुल २९ असार २०७३ मा निर्माण कम्पनी कालिका–तुँदी–रसुवा जेभीसँग सम्झौता गरी निर्माण थालिएको हो । कूल ६१ करोड २२ लाख २८ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको पुल निर्माण कम्पनीले सम्झौता भन्दा १ वर्ष अगाडि नै निर्माण सम्पन्न गर्यो । यो पुल २३ माघ २०७५ मा नै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुीवर महासेठले उद्घाटन गरे । पुल निर्माणपछि स्थानीयलाई सहज भएको छ ।

सिन्धुलीमै कालिका–टुँडी–रसुवा जेभीले मरिण खोलामा निर्माण गरेको ४ सय मिटर लामो पुलका लागि २९ असार २०७३ मा सम्झौता भएको थियो । २८ पुस २०७६ सम्ममा सम्पन्न गर्नु पर्नेमा  २० भदौ २०७५ मै पुलको उदघाट्न भयो । कूल ५८ करोड ८६ लाख रुपैयाँको यो पुल दुई लेन र १० वटा स्पान सहितको छ । यो पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले १२ मंसिर २०७३ शिलान्यास गरेका हुन् । उदघाट्न पनि उनैबाट भएको हो । मरिण गाउँपालिका वडा नंं.६ र ४ जोड्ने पक्की पुलको निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका करिव १५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

ओखलढुंगाको सिस्नेखोला पुल

ओखलढुंगाको सिस्ने खोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो । मिलनचोक–सपनावति–रुम्जाटार सडक खण्ड अन्तरगत सिस्ने खोलामा २ वर्षमा बनाई सक्नेगरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

के.एम. इन्जिनियर्स विल्डर्स काठमाडौंले २४ असार २०७९ मा निर्माण सम्पन्न गर्नेगरि २५ असार २०७७ मा नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । कुल ३५ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाईको यो पुल प्रिस्टिेस आरसिसि प्रविधिमा निर्माण गरिएको हो ।  बजेट पनि समयमै निकासा भएपछि काम सक्न सजिलो भएको निर्माण कम्पनीका अधिकारीको भनाइ छ ।  यो पुल स्थानीय सडक पुल कार्यक्रम, स्थानीय सडक पुल सहयोग इकाईको सहयोगमा भ्याट सहित ५ करोड ४४ हजार रुपैयाँ लागतमा ठेक्का लागेको थियो ।

तोकिएको समायावधि अघि नै कसरी सम्पन्न हुन्छन् पूर्वाधार परियोजनाहरू

पूर्वाधार परियोजना छिटो वा तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने विषय मूलतः निर्माण व्यवसायीको प्रयत्न र काम गराइमा भर पर्छ ।

अर्जुन जंग थापा, महानिर्देशक सडक विभाग

‘केही परियोजना प्रमुखले परियोजनालाई सजिलो बनाउन निर्माण सामाग्री सहजरूपमा उपलब्ध गराउनेदेखि जमानीसमेत बसेको र कामलाई तीव्रता दिन खोजेको भेटियो, त्यसले परियोजनालाई पक्कै अघि बढाउन सहयोग पुग्यो’ 

यससँगै परियोजना निर्माणस्थल वरपरको वातावरण अनुकूल हुँदा निर्माण समयमै सम्पन्न गरेकाे अनुभव छ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको । उदाहरणको लागि परियोजनाले स्थानीयको साथ सहयोग पायो, परियोजना कार्यालयबाट सहयोग भयो र काम गर्नको लागि उत्साह भयो भने छिटो काम सकिएको पाइन्छ । यसबाहेक कुनै समस्या आइहाल्यो भने छिटो समाधान गरिदिने हो भने पनि कार्यान्वयनमा सहजीकरण हुन्छ ।

‘केही परियोजना प्रमुखले परियोजनालाई सजिलो बनाउन निर्माण सामाग्री सहजरूपमा उपलब्ध गराउनेदेखि जमानीसमेत बसेको र कामलाई तीव्रता दिन खोजेको भेटियो, त्यसले परियोजनालाई पक्कै अघि बढाउन सहयोग पुग्यो’ थापा भन्छन् ।

राजेन्द्रराज शर्मा, पूर्व सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

‘ठेक्का सम्झौता भएको दिनदेखि त्यसलाई पछ्याएर हिड्ने हो भने समयमा परियोजना बन्न सक्ने ती परियोजनाको अनुभवबाट देखिन्छ’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव राजेन्द्रराज शर्मा ठेक्का सम्झौताअनुसार कार्यतालिका बनाएर काम हुँदा परियोजनाहरू तोकिएकै समयमा सम्पन्न हुने गरेको अनुभव सुनाउँछन् । ‘ठेक्का सम्झौता भएको दिनदेखि त्यसलाई पछ्याएर हिड्ने हो भने समयमा परियोजना बन्ने ती परियोजनाको अनुभवबाट देखिन्छ’ उनले भने ।

प्राविधिक समस्या समयमा समाधान गर्ने, सामाजिक, आर्थिक, स्थानीय, निर्माण सामाग्रीको आपूर्ति जस्ता विषयमा समन्वय गरेर काम गर्ने हो भने परियोजना सहजै अगाडि बढ्ने उनको बुझाइ छ ।  ‘तर, जिम्मा लिएर गम्भीरतापूर्वक काम नगर्ने प्रवृत्तिले समयमै नसकिने रोग धेरै परियोजनामा कायमै छ, ’ उनी थप्छन् ।

कर्णाली पुल, सिँचाइ विभागको भवन लगायतका परियोजना तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको टुँडी कन्स्ट्रशनका अध्यक्ष ऋषिप्रसाद सुवेदी भने परियोजनाको अवस्थिति, निर्माण सामाग्रीको उपलब्धता, परियोजना निर्माणको जिम्मा दिने सार्वजनिक निकायका अधिकारीहरुको व्यवहारमा भर पर्ने सुनाउँछन् ।

ऋषिप्रसाद सुवेदी,अध्यक्ष, टुँडी कन्स्ट्रशन

‘बिल समयमा क्लियर गर्ने, कुनै समस्या आयो भने तत्काल निर्णय गर्ने र कामलाई नरोक्ने कार्य भयाे भने कामले गति लिन्छ’

परियोजना स्थलमा निरीक्षण गर्ने हाकिम सकारात्मक हुनुको साथै कामलाई रोक्ने नभई काम गर्नलाई उत्साहित गर्ने भूमिका खेल्दा कामले गति लिने उनको भनाइ छ  ।बिल समयमा क्लियर गर्ने, कुनै समस्या आयो भने तत्काल निर्णय गर्ने र कामलाई नरोक्ने कार्य भयाे भने कामले गति लिन्छ’ उनी भन्छन् ।

देशका विभिन्न ठाँउमा समयभन्दा पहिला नै काम सम्पन्न गरेको रसुवा कन्स्ट्रक्शनका वरिष्ठ इञ्जिनियर सुदर्शन देवकोटा काम गर्ने जनशक्ति र निर्माण सामाग्रीको उपलब्ध भए काम छिटो हुने अनुभव सुनाउँछन् । रसुवाले अहिलेसम्म धनुषा जिल्लामा महेन्द्रनगर (औराही) पुल, बाँकेमा गोवार खोला पुल, सिन्धुलीको कमला नदी पुललगायतका आयोजना समयअगाडी नै सम्पन्न गरेको उदाहरण छ ।

सुदर्शन देवकोटा, वरिष्ठ इन्जिनियर , रसुवा कन्स्ट्रक्सन

‘काम गरेपछि त्यसको भुक्तानी समयमा हुँदा पनि काम गर्न सजिलो मात्र होइन, छिटो पनि हुने गरेको छ’ 

काम गरेपछि त्यसको भुक्तानी समयमा हुँदा पनि काम गर्न सजिलो मात्र होइन, छिटो पनि हुने गरेको छ’ उनले भने । यसबाहेक व्यवसायिक निर्माण व्यवसायी नहुँदा, अनुभव र नीतिगत  कमजोरीले परियोजना समयभन्दा ढिलो हुने गरेको धेरै निर्माण व्यवसायी भनाइ छ । निर्माण क्षेत्रलाई सुधार्न ठेक्का पाउने बित्तिकै अग्रिम भुक्तानी दिन बन्द गर्नुपर्ने र काम गर्ने क्षमता अनुसार काम दिनुपर्ने हुन्छ । त्यसबाहेक, स्वस्थ प्रतिस्पर्धाले पनि सुधार ल्याउँछ ।

पूर्व सचिव सुमन शर्मा परियोजना समयमै सम्पन्न हुनुमा पूर्व तयारी, स्पष्ट खरिद कागजात (विड डकुमेण्ट) सुस्पष्ट भएन/ भएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।  ‘विगतमा धेरै वटा करार यही अस्पष्टताले पनि समस्यामा परेका छन्,’ शर्मा सम्झन्छन् ।  तेस्तै, ठेक्का कबोल गर्ने लागत अंक पनि अर्को महत्त्वपूर्ण विषय हो । ‘धेरै थोरैमा ठेक्का कबोल गर्ने र निर्माण गर्न नसक्ने समस्या देखिन्छ । जसका कारण परियोजना नै समयमै सकिंदैन,’ शर्माले अनुभव सुनाए ।

समयअघि परियाेजना सम्पन्न गर्दा के फाइदा हुन्छ ?

सडक विभागका महानिर्देशक थापा परियोजना समयअघि नै सम्पन्न गर्दा जनताले चाँडै सेवा सुविधा पाउनुका साथै आर्थिक गतिविधि सक्रिय हुने बताउँछन् ।  किसानले आफ्नो फसल बजारसम्म पुर्याउन सजिलो हुने भयो । ‘समयमै परियोजना पुरा हुँदा बेफाइदा कसैलाई छैन । सार्वजनिक निकायले आफ्नो राम्रो कार्यसम्पादन देखाउने मौका पाउँछ भने निर्माण व्यवसायीका लागि राम्रो छवी निर्माण भइ अन्य परियोजनामा पनि काम पाउन सजिलो हुने भयो,’ महानिर्देशक थापा भन्छन् ।

टुँडी कन्स्ट्रशनका सुवेदी पनि परियोजना तोकिएको समयभन्दा अघि सम्पन्न गर्दा सबै पक्षलाई फाइदा पुग्ने बताउँछन् । ‘परियोजनाबाट सेवा सुविधा लिनेले लामो समय पर्खनुपर्दैन् । सरकारले विनियोजन गरेको बजेट समयमै खर्च हुन्छ । निर्माण व्यवसायीले पनि छिटो काम सकेपछि अर्को काम गर्नको लागि अवसर पाउँछन्’ उनी थप्छन् ।


Read Previous

वित्तीय क्षेत्रका विविध विषयमा अध्ययन गर्न सिबिफिन र एक्यानवीच सम्झौता

Read Next

अतिक्रमण तथा भवनको अनधिकृत प्रयोजन परिवर्तन रोक्नु महानगरकाे पहिलो दायित्वः बालेन

Leave a Reply

Your email address will not be published.