Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

‘देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई दिनुपर्छ’


धादिङमा जन्मिएका ऋषिप्रसाद सुवेदी ४ दशकदेखि निर्माण क्षेत्रमा सक्रिय छन् । अहिले ७३ वर्षको उमेरमा पनि उनी नियमित काम गरिरहेका छन् । यति मात्र होइन, सन् २०१० देखि भुटानसम्म पुगेर  काम गरेको अनुभव उनीसँग छ । निकट भविष्यमा अष्ट्रेलियामा पनि काम गर्नका  लागि कम्पनी दर्ता गर्ने काम सम्पन्न भइसकेको छ । टुँडी कन्स्ट्रक्सनका संस्थापक उनी बरिष्ठ निर्माण व्यवसायीको रूपमा चिनिन्छन् । जिम्मा दिएको काम गुणस्तरीय र समयभन्दा चाँडै सम्पन्न गर्ने संस्थाको रूपमा समेत उनको परिचय स्थापित छ । उनै सुवेदीसँग नेपाल पूर्वाधार डटकमका लागि भीम गाैतमजीवन बस्नेतले गरेको कुराकानीकाे संक्षिप्त सारः

तपाई निर्माण व्यवसायकाे क्षेत्रमा कसरी प्रवेश गर्नुभयो, यही क्षेत्रमा आउनुको विशेष कारण के थियाे ? 

मैल २०३३ सालमा सडक विभागबाट राजिनामा दिएपछि निर्माण व्यवसायकाे क्षेत्रमा सकृय भएर लागेकाे हुँ । त्यसअघिसम्म विभागका काम गर्थें । कार्यालयले कहिले दार्चुला, कहिले बझाङतिर सरुवा गरेपछि हाकिमलाई त्यति टाढा सरुवा नगर्न आग्रह गरें । तर, हाकिमले खटाएको ठाउँमा जानुपर्छ भन्नुभयो । मसँगैका अन्य केही साथीलाई भने विभागमै राखियाे। मैले सरुवाकाे विषयमा असन्तुष्टि राखेपछि हाकिमसँग भनाभन भयो । त्यही आवेगमा मैले सबै कर्मचारीलाई समान व्यवहार नभएको भन्दै सडक विभागकाे सरकारी जागिरबाट राजीनामा दिएं ।

त्यहीबेला गाउँ फर्क अभियान पनि चलिरहेको थियो । म पनि गाउँ फर्किएर राजनीतिमा प्रवेश गरी धादिङको जिल्ला पञ्चायतको सदस्य भएं । त्यसबेला आफू प्राविधिक भएकाले सामाजिक काममा लागें । गाउँ ठाउँमा खानेपानी, सिँचाई जस्ता काममा आफुसँग सीप भएकाले ती काममा सघाएं । २०३४ सालमा केही साथीहरूसँग मिलेर डी वर्गको निर्माण कम्पनी दर्ता गरें । त्यसबेलादेखि नै गुणस्तरीय काम गर्ने भन्ने अठाेट मनमा थियाे । साेही अठाेट अनुरूप राम्रो काम गर्न प्रतिबद्ध भइ २२ ठाँउमा ठेक्का हालें, तर एउटैमा पनि परेन ।

धेरै पटककाे प्रयासपछि एउटा कामकाे ठेक्का हात पर्याे । प्युठानको एउटा जीआइ पाइपसम्बन्धी काम गरियो । त्यसकाे केही समयपछि विदेशतिर जाने तयारी गर्न थालें । तर, मकवानपुरको एउटा सी वर्गको फर्मले मिलेर काम गर्ने प्रस्ताव ल्यायाे । उक्त प्रस्ताव स्वीकार गरी काम गर्दै गर्दा त्यससँगै दुई वटा फर्म मिलाउँदा बी वर्गमा स्तरोन्नति भयो । र त्यहाँ काम गरियाे ।

अलि पछि मकवानपुरमा कुलेखानी जलाशय जलविद्युत आयोजना निर्माण हुने भयाे । याे आयोजनाकाे १८ वटा भवन निर्माण गर्ने ठेक्का मेराे कम्पनीलाई पर्यो । त्यो काम गरियो । मेरो हकमा भने २०३९ सालसम्म कुलेखानेमा काम गरेपछि साझेदार व्यक्तिसँगै काम गर्न सकिएन् । त्यसपछि आफैंले कम्पनी स्थापना गरेर काम गर्ने सोच आयो । २०४० सालमा टुँडी कन्स्ट्रक्सन स्थापना गरें । यो कम्पनी स्थापना गरेको पनि आउदो माघदेखि ४० वर्ष लाग्दैछ ।

त्यति बेलाकाे समयमा ठेक्का लगाउने प्रक्रिया कस्ताे हुने गर्दथ्याे ?

उतिबेलाकाे समयमा ठेक्का लगाउनुअघि सबै गर्नुपर्ने कामको पूर्ण तयारी हुने गर्दथ्याे । त्यसपछि ठेक्का प्रस्ताव आह्वान गरिन्थ्यो । त्यसबेला २०३२ सालदेखि दर्ता भएका निर्माण कम्पनीले मात्र ठेक्कामा भाग लिन पाउने व्यवस्था थियो । निर्माण व्यवसायीकाे काम गर्ने कम्पनीलाई ए, बी, सी, डी भनेर वर्ग छुट्याइन्थ्यो ।

पहिले र अहिलेको ठेक्का प्रणालीकाे तुलना गर्दा कति भिन्नता देख्नुहुन्छ ?

अहिलेको र पहिलेको ठेक्का प्रणालीमा आएको परिवर्तन के हो भने पहिले यो क्षेत्र प्रदुषित थिएन । फोहोरी खेल खेलिँदैनथ्याे । व्यवसायप्रतिकाे इमान्दारीता थियो । निर्माण व्यवसायीले सरकारी कार्यालयका हाकिमलाई रकम ख्वाएर काममा प्रभाव पार्न सकिँदैनथ्यो । त्यो बेला पञ्चायती व्यवस्था थियो । राजनीतिक रूपमा प्रजातान्त्रिक अधिकार पाइएन भन्ने थियो । तर, व्यवहारिक रूपमा कानूनी शासन बलियो र सबै उत्तरदायी हुने अवस्था थियो । बहुदलीय व्यवस्था आएको केही समयपछि निर्माण व्यवसायकाे क्षेत्रमा विकृति भित्रियाे र गलत काम गर्न थालियो । त्यससँगै इमान्दारीता पनि सकियो ।

ठेक्का प्रणालीमा फोहोरी खेल कसरी सुरु भयो ? अहिले कुन तहसम्म पुगेको छ ?

अहिले फोहोरी खेल यति खराव अवस्थामा पुगेको छ कि इमान्दारी र गुणस्तरीय काम गर्ने मानिसलाई टिक्न नै गाह्रो छ । सन् २०१० तिरको कुरा हो । गलत काम गर्नैहरूले हाम्रै कम्पनीलाई यति धेरै दुखः र अफ्ठ्यारोमा पारे कि मलाई आफ्नै देशप्रति घृणा जागेर आयो । यस्तो देशमा पनि काम गर्ने भन्ने प्रश्न उब्जियो । देशको तत्कालिन प्रधानमन्त्रीको जिल्लाको काम गर्न कठिन भयो । चन्द्रनिगाहपुर–गौर सडकको ४४ किलोमिटर कालोपत्रे गर्नुपर्ने थियो । त्यो काम १५ महिनामा सकिन्थ्यो । तर, तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले साथ नदिएको कारण काम अघि बढाउन सकिएन् ।

त्यो आयोजना प्रमुख माधव नेपालकै जिल्लाको मानिस थियो । त्यो आयोजना प्रमुख (अनोठालाल पटेल) ठिक थिएनन् । तत्कालिन सडक विभागका महानिर्देशकले पनि ती आयोजना प्रमुखलाई हटाउन खोज्दा प्रधानमन्त्रीले साथ दिएनन् । त्यो आयोजना प्रमुखले धेरै वटा गलत काम गर्यो । काममा प्रगति गर्न नदिने र विभिन्न अल्झन गर्ने काम गर्दथ्याे । यस्ता गलत अभ्यासहरू झन बढ्दै गए । निर्माण व्यवसायीलाई गरिएकाे यस्ताे व्यवहारले बनायो । त्यसपछि मलाई यहाँ काम गर्न मन लागेन र विदेश लागें ।

त्यसपछि देश छोेडेर कहाँ जानु भयो ?

म सन् २०१० मा भुटान गए । त्यहाँ ६ वर्ष बसें । त्यो अवधिमा भुटानमै ५ वटा आयोजना सम्पन्न गरें । त्यसले कम्पनीलाई स्थापित गर्न सहयोग गर्यो । नेपालमै बसिराखेकाे भए त्यही बेला कम्पनी डुब्थ्यो । गलत नियतका मानिससँग काम गर्नुपर्दा, परामर्शदाताले समयमा सिफारिस नगरिदिँदा, आयोजना प्रमुखले बिल लुकाउने गर्दा म भुटान हान्निएको थिएं । त्यहाँ पनि टुँडी कन्स्ट्रक्सनकै नामबाट काम गरें र सफल पनि भएं ।

यो देशमा जुनसुकै पार्टी भए पनि नेता सही परेनन् । त्यस्तै कर्मचारीतन्त्र, जसलाई हामी स्थायी सरकार भन्छौं, त्यो पनि खराब छ । जुन हाकिमले निर्माण व्यवसायीबाट रकम उठाउँछ वा थुत्छ । त्यो कर्मचारीले त्यसरी उठाएको रकम नेतालाई चढाउँछ ।

नेपालमा ठेक्का लाग्ने ,तर समयमा आयोजना नबन्ने ठूलाे समस्या छ । दोष निर्माण व्यवसायीलाई लाग्ने गरेको छ, यसबारेमा के भन्नुहुन्छ ?

यो दुर्भाग्य हो कि यो देशमा जुनसुकै पार्टी भए पनि नेता सही परेनन् । त्यस्तै कर्मचारीतन्त्र, जसलाई हामी स्थायी सरकार भन्छौं, त्यो पनि खराब छ । जुन हाकिमले निर्माण व्यवसायीबाट रकम उठाउँछ वा थुत्छ । त्यो कर्मचारीले त्यसरी उठाएको रकम नेतालाई चढाउँछ । अनि त्यो कर्मचारी नै त्यो महत्त्वपूर्ण आयोजनाको प्रमुख हुन्छ । पदमा त्यही पुग्छ, महानिर्देशक त्यही बन्छ । रकम जम्मा हुने पदमा त्यही कर्मचारी घुमीघुमी पुग्छ । त्यो राष्ट्रसेवक कर्मचारीले नेताले भनेअनुसार गर्ने र पदासिन भइरहनको लागि प्रयोग भइरहने अवस्था छ । यो विल्कुलै ‘अनइथिकल’ अभ्यास भइरहेको छ । यही कारण नै यो देश बिग्रदै बिग्रदै गइरहेको छ । त्यो हद यतिसम्म नाघिसक्यो कि अब देश ठूलै दुर्घटनामा पर्नेतर्फ अघि बढिरहेको छ ।

अझ खराब हुनबाट जोगाउन के कस्ता सुधार आवश्यक छ ?

चुनाव आउँदैछ । यो चुनाबमा मै हुँ, मै हुँ भन्नेजति सबैलाई हराउनुपर्छ । कर्मचारीलाई पद चाहिएको छ । जसले थैली बुझाउँछ, उसलाई नै पद दिने नेतालाई रोक्न यो एउटा अवसर हो । त्यस्तो नेतालाई जिताउनुपर्छ, जसले पैसा ल्याउनेलाई होइन, सही काम गर्ने कर्मचारीलाई सही ठाउँमा पुर्याउन सकोस् । राजनीति निर्माण क्षेत्रजस्तो विल्कुल प्राविधिक क्षेत्रमा घुसेको छ । यसलाई रोक्नुपर्छ ।

 निर्माण व्यवसायी आफैं पनि सक्षम छैनन्, राजनीतिज्ञसँग मिल्छन र ‘अनइथिकल’ काम गर्छन् भन्ने आरोप छ नि ?

हामीसँग नियम कानून छ । त्यसलाई अपनाउनुपर्ने हुन्छ । त्यसको सही कार्यान्वयन गर्नुपर्छ । नियम कानूनलाई नमानेको कारण नै सबै खालका गोलमाल भएका हुन् । नेपालको र भुटानकै नियम कानून हेर्दा तुलनात्मक रूपमा दुवै देशका राम्रै छन् । तर, त्यहाँ त्यसको पालना हुन्छ । यहाँ भएको नियमलाई तोड्ने प्रयास मात्र होइन, तोडेर काम गरिन्छ । कानूनले निर्माण व्यवसायीलाई मात्र होइन, काम दिने सार्वजनिक निकायको हाकिम, आयोजनाको प्रमुख, आयोजनामा संलग्न इञ्जिनियरलगायतलाई पनि जिम्मेवार बनाउनुपर्छ ।

हाम्रो कानून एकतर्फी छ । दुईतर्फी छैन् । हुनुपर्ने दुइतर्फी हो । ठेक्कामा सहभागी सबैलाई जिम्मेवार बनाउनुपर्ने हो । तर, निर्माण व्यवसायीलाई मात्र दोष लगाउने गरिएको छ ।

नेपालको कानून पनि कडा नै छ । तर, त्यो निर्माण व्यवसायीलाई मात्र कडा गर्ने खालको छ । यति मात्र होइन, आयोजनाको हाकिमले निर्माण व्यवसायीसँग मिलेर बैंक ग्यारेण्टी राख्नुपर्ने रकम बैंक ग्यारेण्टी नै निकाल्छन् । त्यसरी निकाले बापत निर्माण व्यवसायीसँग रकम लिन्छ । अनि पछि आयोनजा नबनेमा वा कुनै समस्या आएमा बैंक ग्यारेण्टी नै गर्न नपाउने स्थिति छ । हाम्रो कानून एकतर्फी छ । दुईतर्फी छैन् । हुनुपर्ने दुइतर्फी हो । ठेक्कामा सहभागी सबैलाई जिम्मेवार बनाउनुपर्ने हो । तर, निर्माण व्यवसायीलाई मात्र दोष लगाउने गरिएको छ ।

नेपालमा अर्को विकृति परामर्शदाता पनि हो । त्यसलाई नियमन गर्ने कुनै नियम नै छैन । त्यसलाई जिम्मेवार पनि बनाउन सकिएको छैन । यति मात्र होइन, सार्वजनिक निकाय आफूले गरेको कमजोरीबाट बच्न परामर्शदातालाई देखाउने गरेको छ । अनि परामर्शदातालाई समाउने कानूनको अभाव छ । ठूला आयोजना निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि छिमेकी देशसँग पनि समन्वय र सहयोग प्राप्त गर्नुपर्ने हुनसक्छ । त्यो सहयोग लिन सक्ने नेपाली नेतृत्वको क्षमता पनि देखिदैन । सत्तामा हुँदा राम्रो र सत्ताबाहिर हुँदा विरोध गर्ने चलन छ । यो गलत छ । त्यही भुटानको राजा ठूला आयोजनाको लागि सहयोग माग्न र छिमेकसँग राम्रो सम्बन्ध राख्न वार्ता गरिरहेको हुन्छ । हाम्रोमा कानूनको पालना कहि कतै भएन । गल्ती गर्नेले सजाय पाउँछ भन्ने नै भएन । यस्तो अवस्थामा अघि बढ्न कठिन छ ।

निर्माण व्यवसायीहरूले पनि गुणस्तरीय काम गरेनन भनेर त आरोप लाग्छ, गुणस्तरीय काम गर्न के गर्नुपर्छ ?

नेपालमा गुणस्तरीय काम गर्नको लागि ठूलो जोखिम लिनुपर्ने वा धेरै खर्च गर्न आवश्यक छैन । गुणस्तरीय काम गर्नको लागि कुनै कम्पनी डुब्नु पनि पर्दैन । हाम्रो देशको ग्राभेलहरू नै केही अपवादबाहेक अधिकांश ठाँउमा उच्च गुणस्तरको छ । तर, त्यसलाई हामीले राम्रोसँग प्रयोग गर्न जानेनौं । सडक निर्माण गर्दा कम्प्याक्शन महत्त्वपूर्ण हुन्छ । जहाँ राम्रो कम्प्याक्सन गरिन्छ । त्यो सडक हत्तपत्त बिग्रँदैन ।

तपाई लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय हुनुहुन्छ । तपाईले तोकिएको समयभन्दा अघि नै सम्पन्न गरेका आयोजना कति छन् ?

धेरै आयोजना समयभन्दा पहिले नै सम्पन्न गरिएका छन् । २०४० सालमा नै गोरखा र लमजुङमा स्वास्थ्य चौकी बनाउने ठेक्का १२ महिनाको समयावधि भएकोमा १० महिनामै सम्पन्न गरेको थिएं । यो टुँडी कम्पनी स्थापना भएपछिको पहिलो काम थियो । ती स्वास्थ्य चौकी युएसएआडीले निर्माण गरेको थियो । त्यसबेलाका युएसएआडीका चिफ इञ्जिनियर ज्याक पेनी पनि प्रभावित भएका थिए । उनले २०४६ सालसम्म युएसएआडीले निर्माण गरेका सबै संरचनाको ठेक्का मेरै कम्पनीलाई दिए । त्यसबेला युएसएआडीका ठेक्कामा भाग लिने वित्तिकै मैले नै पाउँथे । सबैभन्दा न्यून भन्ने नै थिएन, धेरै भए पनि मेरै हुन्थ्यो । ती सबै काम मैलै समयभन्दा अघि नै सकें ।

त्यस्तै, अहिले सिँचाइ विभाग भएको भवन २४ महिनाको समय दिएकोमा १८ महिनामा सम्पन्न गरिएकाे हो । यो २०५१ सालको कुरा हो । समय अगावै सम्पन्न गर्दा १० प्रतिशत बोनस मिल्थ्याे । त्यो भनेको ८३ लाख रुपैयाँ हो । ठेक्का ८ करोड ३३ लाख रुपैयाँको थियो । विश्व बैंकले सहयोग गरेको थियो । तर पूरै बोनस नै दिएनन् । १३ लाख रुपैयाँ मात्र दिए ।

त्यस्तै, कर्णालीको १ हजार ५ मिटरको पुल पनि समयअघि नै सम्पन्न गरेका हौं । बाँकेबाट बर्दिया जाने यो पुल ६ महिना अघि नै सकेका थियौं । १ अर्ब १७ करोड रुपैयाँको त्यो ठेक्का ३६ महिनामा सक्नुपर्नेमा ३० महिनामा सकेका थियौं ।

टुँडी कन्स्ट्रक्सनले तोकिएको समयभन्दा पहिले आयोजना सम्पन्न गर्न सक्नुको कारण के हो ?

पहिलो विषय त आयोजना स्थलमा बसेर हेर्ने निरीक्षण गर्ने हाकिम सकारात्मक हुनु जरुरी छ । कामलाई रोक्ने होइन, काम गर्नलाई उत्साहित गर्ने भूमिका खेल्नुपर्छ । बिल समयमा क्लियर गर्ने, कुनै समस्या आयो भने तत्काल निर्णय गर्ने र कामलाई नरोक्ने भयो भने कामले गति लिन्छ । समयमा सम्पन्न गर्न सहयोग पुग्छ । हामीले छिटो काम सम्पन्न गरेका आयोजनामा यसकारण पनि छिटो भएका हुन् ।

यसबाहेक निर्माण सामाग्रीको उपलब्ध हुने परामर्शदता नहुँदा पनि काम छिटो भएका उदाहरण छन् । त्यस्तै, भालुवाङ–प्युठान ६८ किलोमिटर सडक पनि २४ महिनाको समयावधि दिएकोमा १८ महिनामा सम्पन्न गरेका थियौं । त्यो हुनुमा परामर्शदाता सहयोगी भएकोले छिटो भएको थियो ।

केही निर्माण व्यवसायीले समयभन्दा अघि काम सक्ने, केहीको भने समय थप गर्दा पनि नसकेर विद्युतका खम्बामा फोटा टाँसिएको पनि अवस्था छ । यस्तो किन हुन्छ, तोकिएको समयभन्दा छिटो सम्पन्न गर्ने कसरी बनाउन सकिन्छ ?

मानिसहरू न्यून कबोल (लो बिड) लाई समस्याको रूपमा लिएको पाइन्छ । तर, त्यो क्षमता हुनेले लोड बिडमा पनि गएर ठेक्का लिन पाउनुपर्छ । न्यून कबोल गरेका ठेक्कामा पनि गुणस्तरीय काम गरेका छौं । खराब काम भएकोलाई मिडियाले पनि देखाउने गरेको छ । तर, राम्रो कामलाई प्रचार गर्ने गरिएको छैन । यो पनि गलत छ । अर्कोतर्फ निर्माण व्यवसायी साथीहरूलाई पनि समयमै र गुणस्तरको काम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिन आग्रह गर्छु । भन्दै आइरहेको पनि छु । कसैले गुणस्तरीय काम गर्दैन भने त्यसको विरुद्ध हामी निर्माण व्यवसायी नै एक भएर जाइलाग्नुपर्छ ।

निर्माण व्यवसायीले आफ्नो इमान्दारीता यथावत राख्नुपर्छ । अर्कोतर्फ सरकारले आफ्नो देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई नै दिनुपर्छ । विदेशीलाई दिनुहुदैन । देशभित्रको स्रोत देशमा नै रहन्छ । विदेशी सहयोगको रकममा भने देशभित्रका निर्माण व्यवसायी र विदेशीलाई पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्छ ।

पैसा खुवाउने र हात जोडेर काम पाउने गरी अघि नबढौ, निर्माण व्यवसायी भनेको चोरेर खाने होइन, इमान्दारीपूर्वक काम गरेर खाने पेशा हो । मूल्य वृद्धि भएन र अन्य अवस्था यथावत रहँदा नाफा हुने र अन्य अवस्थामा घाटा पनि हुन्छ । नाफा र घाटाको सिलसिला चलिरहन्छ । तर, निर्माण व्यवसायीले आफ्नो इमान्दारीता यथावत राख्नुपर्छ । अर्कोतर्फ सरकारले आफ्नो देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई नै दिनुपर्छ । विदेशीलाई दिनुहुदैन । देशभित्रको स्रोत देशमा नै रहन्छ । विदेशी सहयोगको रकममा भने देशभित्रका निर्माण व्यवसायी र विदेशीलाई पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्छ । नागरिक तहमा पनि देशको रकमले विदेशीलाई ठेक्का नदिन दवाब दिनुपर्छ । देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई दिनुपर्छ ।

काम हुने स्थानमा रहेका स्थानीयले पनि निर्माण व्यवसायीले ठिक काम गरेको छ वा छैन् भनेर निरीक्षण गर्ने र प्रश्न उठाउनुपर्छ । त्यस्तै, आयोजनाले काम गरेर पनि भुक्तानी रोकिरहेको छ भने त्यसलाई प्रश्न उठाउनुपर्छ । सरकारले कार्वाही नगरेकाले आम नागरिकले प्रश्न उठाउन सक्नुपर्छ ।

नेपाल निर्माण व्यवसायी कत्तिको सक्षम छन ?

हामी सक्षम छौं । नेपाली कम्पनीले विदेशमा समेत काम गर्न सक्ने भएपछि हामी सक्षम छौं भन्ने प्रमाण हो ।


Read Previous

नेपेक्सको अध्यक्षमा आचार्य सर्वसम्मत, प्रबन्ध निर्देशकमा पुनः गर्ग

Read Next

साढे १० करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने माथिल्लो तामाकोशीकाे प्रस्ताव स्वीकृत, काे काे भए सञ्चालक ?

Leave a Reply

Your email address will not be published.