Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

परीक्षा पास नगरी इञ्जिनियरिङ व्यवसाय गर्न निषेध, नेपाल इञ्जिनियरिङ परिषद ऐन ३ वर्षपछि पारित


काठमाडौं । बुधबार बसेको प्रतिनिधी सभा बैठकले नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित गरेको छ । यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाइने छैन । नाम दर्ता गर्नको लागि परिषद्ले लिने परीक्षा पास गर्नुपर्नेछ ।

ऐनले व्यवसायिक आचार संहिताको उल्लंघन गर्ने वा पालना नगर्ने दर्तावाला इञ्जिनियरलाई परिषद्ले देहाय बमोजिको सजाय गर्ने व्यवस्था गरिएको छ । सजायहरुमा नसिहत दिने, कुनै खास अवधिको लागि इञ्जिनियरिङ व्यवसाय गर्न नपाउने गरी नामदर्ता प्रमाणपत्र निलम्बन गर्ने र दर्ता किताबबाट नाम हटाउनेसम्मको सजाय गर्ने व्यवस्था छ ।

यसअघि परिषदमा नाम दर्ता भएको विश्वविद्यालयमा अध्ययन गरेको व्यक्तिले आफ्नौ प्रमाणपत्र पेस गरेपछि परिषद्ले नाम दर्ता गर्ने गरेको थियो । नाम दर्ता भएपछि इञ्जिनियरिङ व्यवसाय गर्न कुनै अवरोध थिएन् । ‘तर, अब अध्ययन गर्दैमा इञ्जिनियरको रुपमा काम गर्न पाइने छैन’ नेपाल इञ्जिनियर्स एसोशिएसनका महासचिव रविभुषण झाले भने ।

इञ्जिनियरले ऐनमा व्यवस्था भएबमोजिम परिषद्ले तोकेको सदस्य संयोजक, परिषद्ले तोकेको परिषद्का तीनजना सदस्य र रजिष्टार सदस्य सचिवको रुपमा रहेको समितिले परिक्षा लिनेछ । इञ्जिनियरको परिक्षा वर्षमा दुइ पटक सञ्चालन हुनेछ । परिक्षामा सहभागी भएर उत्र्तीन भएका दरखास्तावालाको नाम दर्ता गर्नको लागि समितिले परिषद्मा सिफारिस गर्नेछ ।

ऐन कार्यन्वय गर्ने परिषद्ले आवश्यक नियमहरु बनाउने सक्ने व्यवस्था थपिएको छ । त्यसरी बनाएको नियम नेपाल सरकारले स्वीकृत भएपछि मात्र कार्यन्वयन हुनेछ । नियम विपरित नहुने गरी परिषद्ले आवश्यक विनियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड बनाउन सक्नेछ ।

परिषद्ले वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने नयाँ व्यवस्था थपिएको छ । परिषद्ले वर्षभरी सम्पादन गरेका कामको संक्षिप्त विवरण, प्रशासकीय खर्च, आयव्ययको विवरण तथा भविष्यमा सञ्चालन गर्ने कार्यक्रम समेत समावेश गरी प्रत्येक वर्षको असोज महिनाभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले २९ जेठ २०७६ मा नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक राष्ट्रिय सभामा दर्ता गरेका थिए । त्यसपछि ३ असार २०७६ मा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । १० असार २०७६ मा सामान्य छलफल भयो । ३ साउन २०७६ मा समितिमा दफावार छलफल भएको थियो ।

त्यसपछि समितिले १० पुस २०७६ मा प्रतिवेदनसहित पेस गरेको थियो । १४ पुस २०७६ मा राष्ट्रिय सभाले पारित गरेको थियो । त्यसपछि ३२ महिनापछि प्रतिनिधि सभामा पेस भएकै दिन बुधबार ऐन पारित भएको हो । अबको ३० दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यन्वयनमा आउनेछ ।

यसैबिच, नेपाल इञ्जिनियर्स एसोशिएसनले नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित भएको खुसी व्यक्त गरेको छ । एसोशिएसनले नयाँ व्यवस्थाले इञ्जिनियरिङ क्षेत्रलाई नयाँ युगतर्फ डोहो¥याउने महासचिव रविभुषण झाको भनाइ छ ।

एसोशिएसनले नेपाल इञ्जिनियर्स एसोशिएसनको प्रांगणमा दिप प्रज्वलन गरेको छ । त्यसअवसरमा इञ्जिनियर र आर्किटेक्टहरुको उपस्थिति थियो ।

 


Read Previous

जलाशय आयोजनाको योगदान ३ प्रतिशतभन्दा न्युन, सरकारको प्राथमिकता झन घट्दै

Read Next

सुनकोशी तेस्रो निर्माणमा स्थानीय उत्साह र राजनीतिक दलको प्रतिवद्धता

Leave a Reply

Your email address will not be published.