Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मर्स्याङ्दी कोरिडोरमा उच्च क्षमताका ४ सबस्टेसन निर्माणाधीन


काठमाडौं । २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत उच्च क्षमताका ४ वटा सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी तथा सहायक नदी बेसिनमा निर्माणाधीन तथा निर्माण हुन लागेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न एवं विद्युतको गुणस्तर सुधार गर्ने उद्देश्येले २२० केभी क्षमताका सबस्टेसन निर्माण गरिरहेको हो ।

प्रसारण लाइन आयोजना अन्तर्गत चितवनमा न्यू भरतपुर, लमजुङमा उदीपुर र खुदी तथ मनाङको धरापानीमा गरी ४ सबस्टेसन निर्माणाधीन छन् । यी मध्ये न्यू भरतपुर र उदीपुर सबस्टेसन अबको ३ महिनाभित्र पूरा गर्ने गरी निर्माणलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार खुदी सबस्टेसन सम्पन्न हुन अझै एक वर्ष लाग्ने देखिएको छ । धारापानी सबस्टेसनको निर्माण भर्खरै सुरु भएको छ । भौगोलिकरूपमा दुर्गम स्थानमा यो सबस्टेसन निर्माण भइरहेकाले सम्पन्न हुन केही समय लाग्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।

मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेका न्यू भरतपुर र उदीपुर २२०/१३२ केभी सबस्टेसनमा क्रमश ३२० एमभिए र १६० एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान हुँदैछन् । १३२/३३ केभीका लागि ५० एमभिए क्षमताका पावर टान्सफर्मर जडान हुँदैछन् । दुवै सबस्टेसनमा अहिले उपकरण जडान कार्य धमाधम भइरहेको छ ।

खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी,१६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । धारापानीमा काम भर्खरै सुरु भए पनि खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले निर्माणाधीन सबस्टेसनको स्थलगत अनुगमन गरी प्रगति विवरण लिएको छ । टोलीले निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको संरचना निर्माण गर्ने क्रममा आएका समस्या, सम्पन्न हुने तालिकासहितका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबाट छलफल गरी पछिल्लो विवरण लिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीका प्रतिनिधिसँगको भेटमा प्रसारण लाइन र सबस्टेसनको निर्माण तोकिएको तालिकाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिए । ‘मर्स्याङ्दी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न भनी प्रसारण लाइन र सबस्टेसन आयोजनाको काम सुरु गरिएको हो,’ उनले भने, ‘आयोजना सम्पन्न हुने चरणमा पुगेकाले तपाईंहरूले पनि काम तोकिएको तालिकाभित्र सम्पन्न गर्नुपर्यो ।’

उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन तथा स्थानीय समस्या समाधान गरी प्रसारण लाइनको संरचना निर्माण गर्ने कार्य सुरु गर्न आयोजना व्यवस्थापनलाई पनि निर्देशन दिएका छन् । प्रसारण लाइन निर्माणमा आएका समस्या समाधान गर्न माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्नेर सहयोग गर्ने प्रतिबद्धता पनि घिसिङले जनाएका छन् ।

लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी कोरिडोरमा निर्माण सकिन लागेका आयोजनाको विद्युत वैकल्पिक व्यवस्थामार्फत सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा जोड्ने व्यवस्था मिलाइएको छ ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत खुदी सबस्टेसनमा जोडिने छ । मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि प्रसारण लाइन र सबस्टेसन आयोजनाको निर्माण सुरु गरिएको हो ।

प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

मर्स्याङ्दी कोरिडोरलाई ३ प्याकेजमा निर्माण अधि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

दोस्रो प्याकेजअन्तर्गत न्यू भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण सहयोगमा निर्माणाधीन प्रसारण लाइन र सबस्टेसन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।


Read Previous

सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य कट्टा गर्नुपर्ने

Read Next

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) के हो ?

Leave a Reply

Your email address will not be published.