Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती


सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएकाे छ । प्रदेशका विभिन्न जिल्लामा अवस्थित नदी तथा खाेलाबाट यति जलविद्युत उत्पादन गर्न सम्भाव्य देखिएकाे हाे ।

ठूला नदी तथा खाेलामा गरिएकाे अध्ययनबाट जलविद्युत उत्पादनमा प्रचुर सम्भावना देखिएकाे  प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षण अध्ययनबाट यो तथ्य फेला परेको हो ।

जलविद्युत उत्पादन सम्भाव्यत अधिक रहेपनि अहिलेसम्ममा कर्णाली प्रदेशबाट राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे विद्युतकाे जडित क्षमता ८.२५ मेगावाट मात्रै छ । भाैगाेलिकरूपमा विकट याे प्रदेशमा सडक पहुँच तथा प्रसारण प्रणालीकाे सञ्जाल विस्तार हुन नसक्दा सम्भाव्यता अधिक रहँदा समेत कम विद्युत उत्पादन भएकाे हाे ।

विद्युत पहुँचकाे अवस्था पनि अन्य प्रदेशकाे तुलनामा कर्णालीमा न्यून छ । प्रदेशमा १० जिल्लाका ५७ प्रतिशत घरधुरीले मात्र राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत् सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उद्योग जस्ता सेवा क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युतकाे माग पूर्ति गर्न प्रसारण लाइन तथा प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनुपर्ने देखिएकाे इन्जिनियर शर्माले बताए ।

सम्भाव्यता अध्ययनका लागि अनुमतिपत्र पाएका १९ जलविद्युत् आयोजना कर्णालीमा छन् । डाेल्पाकाे सहरतारामा पहिचान भएकाे १४० मेगावाटकाे भेरी नदी जलविद्युत् आयोजनाकाे अध्ययन अनुमतिपत्र जारी भएकाे छ । यस्तै, डाेल्पाकै त्रिपुराकाेटमा ३१५ मेगावाटकाे  माथिल्लो भेरी, मुगुमा ५७ मेगावाटको मुगु खोला तथा जाजरकाेटमा ७.१ मेगावाटकाे ताक्सुगाड जलविद्युत् आयोजना पनि अनुमति लिइ अध्ययनकाे चरणमा छन् ।

त्यसैगरी, कालीकाेटकाे चिलखायामा १९.६ मेगावाटकाे अपर रुरु बन्छुखोला, हुम्लाकाे बरुङ्गामा ७० मेगावाटको चुवाखोला,मुगुमा १३५ मेगावाटकाे नाम्ला खोला र ३०६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत् आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि अनुमतिपत्र लिएका छन् ।

सम्भाव्यता अध्ययनकाे अनुमतिपत्र जारी भएका कर्णाली प्रदेशका अन्य जलविद्युत आयोजनामा ८२.३ मेगावाटको जगदुल्ला ए, ४.६८ मेगावाटको सिस्नेखोला, ३०.२ मेगावाट रतमाखोला, ३० मेगावाटको सानीभेरी–३, ६.३ मेगावाटकाे अपर टाक्सु,१५२ मेगावाटकाे मुछुलिमी, ४० मेगावाटको पेल्माखोला,६० मेगावाटको अपरसानीभेरी, १०० मेगावाटकाे जिल्ली चुमाइ र ३.५ मेगावाटको फेदीखोला छन् ।

२१ जलविद्युत आयोजना निर्माणमा जाने तयारीमा

हाल कर्णालीमा २१ जलविद्युत आयोजना निर्माणाधीन तथा निर्माणमा जाने प्रक्रियामा  छन् । विद्युत विकास विभागकाे तथ्यांकअनुसार सबैभन्दा बढी जलविद्युत आयोजना साविकको कर्णालीमा निर्माण हुँदैछन् । सबैभन्दा कम सुर्खेतमा छन् ।

निर्माणाधीन जलविद्युत आयोजनामा ३.७५ मेगावाटको दवारीखोला, ४.५ मेगावाटको पदमखोला, ४६.८ मेगावाटको भेरी बबई डाइभर्सन छन् । ४१७ मेगावाटको नलगाड, १०६ मेगावाटको जगदुल्ला र ४२६ मेगावाटको फुर्कोट कर्णाली जलविद्युत् आयोजना संरचना निर्माण सुरु गर्ने तयारीमा रहेका छन् ।

त्यसैगरी, ४३९ मेगावाटकाे बेतन कर्णाली, ९ सय मेगावाटकाे माथिल्लो कर्णाली,१९०२ मेगावाटकाे मुगु कर्णाली, ४४० मेगावाटकाे  तिला-१, ४२० मेगावाटकाे तिला–२, २७० मेगावाटकाे भेरी–१,२३५ मेगावाटका  हुम्ला कर्णाली–१ जलविद्युत् आयोजना पनि  निर्माणमा जाने चरणमा पुगेका छन् ।

३४५ मेगावाटकाे हुम्ला कर्णाली–२, १५९ मेगावाटकाे मुगु कर्णाली, ४९ मेगावाटकाे सानीभेरी–३, १२ मेगावाटकाे रुरुबच्छुखोला–२ ,४ मेगावाटकाे अपर लोहरेखोला, ४४ मेगावाटकाे सानीभेरी, ३०० मेगावाटकाे भेरी नदी जलाशय र ९० मेगावाटकाे सुपरचुवाखोला जलविद्युत् आयोजना अध्ययन पूरा भइ निर्माणमा जाने चरणमा पुगेका छन् ।

प्रदेशकाे राजधानी सुर्खेत ३३ केभी प्रसारण प्रणालीकाे सञ्जालसँग जाेडिएकाे छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी प्रसारण लाइनकाे सञ्जाल पुर्याउन काम गरिरहेकाे छ । १३२ केभी नेपालगञ्ज-सुर्खेत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने प्रसारण  लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने प्रदेशबासीकाे माग छ ।

प्रदेशमा जलविद्युत उत्पादनकाे अधिक सम्भाव्यता रहेपनि लगानी जुटाउन ठूलाे चुनाैती छ । खरबाैं लगानी चाहिने यी आयोजना निर्माण गर्न स्वदेशी पुँजीले नपुग्ने हुँदा बाह्य लगानी भित्र्याउनु पर्ने आवश्यकता देखिन्छ ।

भेरी करिडोरमा ४०० केभी प्रसारण लाइन

जाजरकोट नलगाडको दानी पीपलदेखि सुर्खेतको मेहलकुनासम्म ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन निर्माण कार्य अघि बढेको छ । ४०० केभी सबस्टेसनका लागि जग्गा खरिद भई मुआब्जासमेत वितरण भइसकेको छ । कर्णाली प्रदेशका जलविद्युत आयोजनाकाे विद्युत प्रवाहका लागि  १५० किलोमिटर लामो प्रसारण लाइनकाे निर्माण प्रक्रिया अघि बढेकाे हाे ।

दानीपिपलमा नलगाड, ताक्सुगाड र जगदुल्ला लगायतका जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने लक्ष्य छ ।

कर्णालीमा पहिचान भएका  जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटाउनुपर्ने चुनौती रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताए । कर्णालीमा विद्युत् उत्पादन क्षमता धेरै भएकाले सबैको ध्यान अहिले कर्णालीमा रहेको मन्त्री बस्नेतको भनाइ छ । केही समययता सुर्खेतदेखि नेपालगञ्जसम्म विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ ।


Read Previous

सहुलियत दरमा ऋण उपलब्ध गराई लगानी गर्न एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीकाे आग्रह   

Read Next

एसियाली राजमार्गकाे सीतापुरी-देवीखोला खण्डमा रुख कटान सुरु

Leave a Reply

Your email address will not be published.