Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङको काम सुचारु


काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङको काम सुचारु भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुख्खा पहिरो र पानी खस्ने समस्याका कारण ६० दिनदेखि अवरुद्ध सुरुङको काम शुक्रबारदेखि सामान्यरूपमा सुचारु गरिएको हो ।

सुरुङमा आएको समस्या समाधान गरी १०.५४४ मिटरबाट टनेल बोरिङ मेसिन (टिबिएम) ले सामान्यरूपमा काम सुरु गरिएको परियोजनाका निर्देशक मित्र बरालले बताए । ‘महाभारत श्रृङ्खलाकोे जटिल एवं प्रतिकुल भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने र पानी चुहिने समस्या आउँदा विगत २ महिनादेखि परियोजनाको काम रोख्नु परेको थियो,’ उनले भने, ‘अहिले विज्ञहरूको समूहले अध्ययन गरी समस्याको समाधान गरेपछि काम सुचारु गर्न सफल भएका छौं ।’

उनले टिबिएम निर्माणकर्ता रोबिन्स अमेरिकन कम्पनी, स्मेक अष्ट्रेलिय र कोभेक चाइनाका विज्ञ प्राविधिक एवं परियोजना स्थलमा कार्यरत विज्ञ प्राविधिकहरूको संलग्नतामा संयुक्त अध्ययन गरी आएको निश्कर्षअनुरुप नै समस्या समाधान गरी लामो समयदेखि रोकिएको काम सुरु गर्न सम्भव भएको बताए । परियोजनाको सुरुङ निर्माणका क्रममा भौगर्भिक समस्या आउँदा स्वदेशी तथा विदेशी विज्ञ प्राविधिक विज्ञ, परामर्शदाता, निर्माण व्यवसायीबाट आएका सुझावका आधारमा समस्या समाधानको प्रयास गरिएको पनि उनले बताए ।

परियोजनामा अब २.७ किलोमिटर सुरुङ खन्न बाँकी छ । २०७९ असोज २८ गतेबाट परियोजनाको मुख्य सुरुङ खन्न सुरु गरिएको थियो । नेपालका जलविद्युत तथा अन्य सिँचाइका परियोजनामा परम्परागत प्रविधिबाट सुरुङ निर्माण भए पनि यो परियोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टर खेतीयाेग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको यो परियोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन । परियाेजना निर्माण सम्पन्न हुँदा सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत पनि उत्पादन हुनेछ ।


Read Previous

चाबहिलस्थित पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

Read Next

तनहुँ जलविद्युत आयोजनाको ५१ प्रतिशत निर्माण पूरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *