Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग   


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासंघले साेमबार विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्याउन आयोग गठनको माग गरेको हो ।

महासङ्घले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असरपर्ने महासङ्घले जनाएको छ । महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्दालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरेको छ ।

   थप दुई उद्योगको बिजुली काटियो

डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको बिजुली काटेको छ ।    प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८५ करोड रुपैयाँ र लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न चार उद्योगको बिजुली काटेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिनुभएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणले यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले एक अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ ।

पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसदका विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए ।


Read Previous

‘जलवायु परिवर्तन असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’   

Read Next

समस्या समाधानको प्रयासबिनै विद्युत लाइन काटिएको निजी क्षेत्रको गुनासो   

Leave a Reply

Your email address will not be published.