Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड: रुख कटान स्वीकृति ढिलाइले काम सुस्त


काठमाडौं । मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड करिब ३७ किलोमिटर पूरा भएको छ । लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म निर्माणाधीन ६७ किलोमिटर प्रसारण लाइनको यो खण्डमाको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

अहिलेसम्म प्रसारण लाइनको यो खण्डमा पर्ने १९९ वटा टावरमध्ये १०५ वटाको फाउन्डेसन तयार भइसकेको आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार यो खण्डमा वन क्षेत्रबाहेकका निजी जग्गामा पर्ने प्रसारण लाइनको रुटमा काम भइरहेको छ ।

‘निजी जग्गामा पर्ने ९० प्रतिशत काम यो खण्डमा सम्पन्न भइसकेको छ,’उनले भने,‘१० प्रतिशत पनि पालुङटार क्षेत्रमा काम सुरु भएपछि सकिन्छ । तर, वन क्षेत्रको रुख कटानको स्वीकृति लिनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको छ ।’

उनले प्रसारण लाइनको यो खण्डको करिब १५ किलोमिटरको रुट वन क्षेत्रमा पर्ने हुँदा मन्त्रिपरिषदको स्वीकृति मिलेपछि मात्रै काम अगाडि बढ्ने बताए ।

अहिलेसम्म लमजुङ जिल्लामा पर्ने वन क्षेत्रको रुख कटानको मात्रै स्वीकृति मिलेकाले त्यस क्षेत्रमा रुख कटान गरेर काम अगाडि बढाइएको छ । अब, गोरखा, तनहुँ र चितवनको वन क्षेत्रको रुख कटानका लागि स्वीकृति मिल्न बाँकी रहेको रेग्मीले बताए ।

‘हाम्रा लागि ३ जिल्लाको वन क्षेत्रको स्वीकृति लिएर काम अगाडि बढाउनु नै अहिलेका लागि ठूलो चुनौती छ । यसका लागि प्रक्रिया पनि अगाडि बढाइसकेका छौं । स्वीकृति समयमा मिल्ने हो भने २०८१ साल असारभित्र निर्माण सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने ।

दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भइसकेका जलविद्युत आयोजनाले प्रसारण लाइनको समस्याकै कारण बर्खामा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसक्ने हुँदा यो खण्ड चाँडै सम्पन्न गर्नुपर्ने दवाब नेपाल विद्युत प्राधिकरणलाई छ ।

प्रसारण लाइनको रुट पर्ने गोरखाको पालुङटार क्षेत्रमा भने स्थानीय समस्या समाधान भई काम अगाडि बढिसकेको छ । २ वर्षसम्मको नियमित छलफलबाट समस्या समाधान गरी यस क्षेत्रमा अहिले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । प्रसारण लाइनको ३ किलोमिटर  पर्ने यस रुटको अध्ययन, डिजाइन तथा टावर निर्माण हुने स्थानको पहिचान भइसकेको रेग्मीले जानकारी दिए ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर १ र २ मा आएको स्थानीय समस्या पनि समाधान भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा दोर्दी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय समस्या समाधान गरिएको थियो ।

प्रसारण लाइनको यो खण्ड अन्तर्गत निर्माण भएको न्यू भरतपुर सबस्टेसन सञ्चालनमा आइसकेको छ । उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । उदिपुर–मार्किचोक–भरतपुर खण्ड निर्माण सम्पन्न हुँदा २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

यस्तै, प्रसारण लाइनको मनाङ्ग–खुदी–उदिपुर खण्डको संरचना निर्माणको काम सुरु भइसकेको छ । प्रसारण लाइनको यो खण्डमा करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको रेग्मीले बताए ।

४६ किलोमिटर लामो यो खण्डको निर्माण २ महिना अगाडि सुरु गरिएको र अहिलेसम्म ३ वटा टावरको पाउन्डेसन तयार भइसकेको उनले जानकारी दिए ।

यो खण्ड अन्तर्गत पर्ने खुदी सबस्टेसनमा धेरै काम भएको छ । खुदी सबस्टेसन अबको ६ महिनामा सम्पन्न हुने उनले बताए । धारापानी सबस्टेसन पनि निर्माण भइरहेको छ ।

मर्स्याङ्दी र यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत प्रवाह गर्ने उद्देश्यले मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन निर्माण भइरहेको हो । यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा करिब १ हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

सरकारको लगानी तथा युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसनको सम्पूर्ण अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।


Read Previous

पर्यटकको पर्खाईमा बेगनास

Read Next

सुरु भएको आठ वर्षमा अझै सकिएन गल्छी–मैलुङ सडक

Leave a Reply

Your email address will not be published.