Nepal Purbadhar

सोमवार, साउन ७, २०८१
Monday, July 22, 2024

सोमवार, साउन ७, २०८१
Monday, July 22, 2024

दूरसञ्चार सेवाको इतिहास र गुणस्तर सेवा


दूरसञ्चार प्रविधि मानिसको दैनिक जीवनको अभिन्न अंगका रुपमा स्थापित भइसकेको छ । नेपालमा यो प्रविधि भित्र्याएर जीवनलाई सहज बनाउन नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालमा दूरसञ्चार सेवाको पहिलो सुरुआत आजभन्दा करिब १०७ वर्षअघि विसं. १९७३ मा भएको थियो । राणाकालीन समय काठमाडाैंमा तारजडित टेलिफोन सेवा प्रारम्भ गरिएको हो । त्यतिबेलै काठमाडौबाट वीरगञ्ज र भारतको रक्सौलसम्म कुराकानी गर्न सकिने ट्रंक लाइन सेवा पनि उपलब्ध गराइएको थियो ।

सुरुमा राणा शासक र शाही परिवारका लागि मात्र उपलब्ध टेलिफोन सेवा विसं. १९७४ जेठदेखि सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको थियो । टेलिफोन सेवा सुरु भएको १९ वर्षपछि विसं. १९९२ मा तत्कालीन शासकको प्रयोगका लागि रानीपोखरी नजिकै रहेको तत्कालीन इन्जिनियर्स एसोसिएसन भवन नजिकै २३ लाइनको (पहिलो) स्वचालित एक्सचेञ्ज स्थापित गरी सेवा विस्तार गरियो । विसं. १९९३ मा काठमाडाैं–धनकुटा कुराकानी गर्न सकिने गरी राष्ट्रिय ट्रंक सेवा सुरु गरियो ।

त्यसयताका वर्षमा क्रमिक रुपमा आधुनिक सेवा–सुविधा र थप नयाँ संरचनाको सहयोगबाट सेवाको गुणस्तर र ग्राहक सेवामा अभिवृद्धि हुँदै आएको छ । यसबाट क्रमिक रुपमा आधुनिक दूरसञ्चार सेवामा विविधता, क्षमता, गुणस्तर र विश्वसनीयता थपिँदै गएको पाइन्छ ।

विसं. २०१२ मा सर्वसाधारणका लागि सुरु गरिएको सेवा २०१६ सम्म काठमाडौं बाहिरका जिल्लामा पनि पुग्यो । त्यो समय आकाशवाणी सेवा उपलब्ध गराउन २८ ठाउँमा आकाशवाणि (आवा) घरको स्थापना, काठमाडौं उपत्यका बाहिरका विभिन्न २९ स्थानमा ट्रंक सेवा उपलब्ध गराउन ६०० भन्दा बढी माइलको तार विस्तार गरिएको थियो ।

२०१६ मा दूरसञ्चार विभाग खडा गरिएपछि काठमाडौंको सुन्धारामा टेलिफोन एक्सचेञ्ज भवन निर्माण गरी १ हजार लाइन क्षमताको स्वचालित एक्सचेञ्ज तथा सिंहदरबारभित्र १२० लाइनको पीएबी एक्स सेवाको सुरुअवात र २०२१/२२ तिर सहरका मुख्य–मुख्य स्थानमा १२ वटा सार्वजनिक टेलिफोन बुथ सञ्चालनमा ल्याइयो ।

विसं. २०२१ मा दिल्ली र कलकत्तामा रेडियो लिंक स्थापना गरी अन्तर्राष्ट्रिय टेलिफोन र टेलिग्राफ सेवा सञ्चालन गरिएको थियो । २०३१ सम्म आइपुग्दा पुराना म्यानुअल प्रविधिको सट्टा अझ आधुनिक प्रविधि प्रयोग गरी सेवा उपलब्ध गराउने क्रम सुरु भइसकेको थियो । यसैबेला नै १८० मा डायल गरी घरबाटै टं«क सेवा उपलब्ध गराउन थालिएको थियो र सोधपुछ सेवा १९७ पनि सञ्चालन गरिएको थियो ।

नेपालबाट विदेश गरिने टेलिफोन तथा विदेशबाट नेपालमा आउने टेलिफोनको गुणस्तर सुधार्न विसं. २०३९ मा बलम्बुमा स्याटेलाइट अर्थ स्टेसन स्थापना गरियो । यसपछि नै नेपालको दूरसञ्चार सेवा अत्याधुनिक युगमा प्रवेश गरेको मान्न सकिन्छ । टेलिफोन सेवालाई अत्याधुनिक गुणस्तरीय प्रविधिबाट सञ्चालन गर्ने क्रममा २०४० मा प्रथम पटक नक्शालमा डिजिटल प्रविधिमा आधारित ५ हजार लाइन क्षमताको एक्सचेञ्ज सञ्चालनमा ल्याइयो । यसपश्चात क्रमश मुलुकभर नै डिजिटल प्रविधिमा आधारित सेवाहरू विस्तार भए । स्याटेलाइट अर्थ स्टेसन र डिजिटल एक्सचेञ्जले घरमै बसेर आफैं डायल गरी संसारभर कुरा गर्न सकिने सुविधा उपलब्ध भयो । पुराना प्रविधिलाई बिदा गर्दै तत्कालीन नेपाल दूरसञ्चार संस्थानले नवीन प्रविधिमा आधारित गुणस्तरीय नयाँ सेवा उपलब्ध गराउँदै गयो ।

सञ्चारको बढ्दो महत्त्व र देशका दुर्गम स्थानमा समेत अत्यधिक मागका कारण नेपाल टेलिकमले अन्तर्राष्ट्रिय गेटवे एक्सचेञ्ज, सीडीओटी एक्सचेञ्ज, भीस्याट (भीएसएटी) बाट टेलिफोन सेवा, रिजनल स्याटेलाइट स्टेसन, प्याकेट स्विचिङलगायत प्रविधि प्रयोग गरी सेवा प्रवाह गर्ने क्रम बढायो । यसै क्रममा ३० बैशाख २०५६ बाट काठमाडाैं विधिवत रूपले जीएसएम प्रविधिमा आधारित मोबाइल टेलिफोन सेवा सुरुआत गरियो । लगत्तै जीएसएम मोबाइल सेवा विराटनगर, वीरगञ्ज र पोखरामा पनि उपलब्ध गराइयो ।

सुरुमा पोस्टपेड सेवा मात्र प्रदान गरिएकामा २०६० भदौबाट प्रिपेड सेवा पनि सुरु गरिएपछि मोबाइलको मागमा अप्रत्यासित वृद्धि भयो । विस्तारै गुणस्तरीय मोबाइल सेवा मुलुकका सबै पालिका र वडामा समेत पुर्याउने लक्ष्यका साथ टेलिकमले योजना कार्यान्वयनमा ल्यायो । सहज रुपले तारवाला टेलिफोन तथा मोबाइल सेवा उपलब्ध गराउन नसकिने विकट, दुर्गम र पहाडी तथा हिमाली भू–भागमा २०६२ देखि सीडीएमए सेवा प्रदान गर्न सुरु गरियो ।

अहिले कम्पनीका सेवा नपुगेका वडा र बस्ती बिरलै पाइन्छन् । हाल अत्याधुनिक सेवा पु¥याउन बाँकी विकट तथा दुर्गम पालिकामा विद्यमान प्रविधिबाट सेवा उपलब्ध गराउन निकै खर्चिलो र कठिन पनि हुने भएकाले कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

यसका अलावा नेपाल टेलिकमले स्थानीय टेलिफोन सेवा, एडिएसएल इन्टरनेट सेवा, मोबाइल सेवा, एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत प्रयोग गर्न सकिने एफटीटीएच सेवा, तीव्र गतिमा अत्यन्त ठूला फाइल र डाटा आदान–प्रदान गर्न सकिने अप्टिकल फाइबरलगायत सेवा प्रवाह गरिरहेको छ । हाल कम्पनीले ७७ जिल्लाका विभिन्न ४ हजार ४ सय ४७ स्थानबाट टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

जम्मा ७७ मध्ये ७३ जिल्लामा २ सय ५६ एक्सचेञ्जमार्फत २ हजार २ सय ७० स्थानबाट एफटीटीएच सेवा प्रवाह गरिरहेको छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले मुलुकभरका २ करोड ८ लाख १ हजार ८ सय ८९ जनसंख्यालाई आफ्ना विविध सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले विविध सेवामा थप अन्य सेवा र अफर पनि नियमित रुपले उपलब्ध गराई सुलभ दरमा अनेकौं सेवा प्रवाह गरिरहेको छ । थप सेवा विस्तारसँगै तिनको गुणस्तर, निरन्तरता तथा सेवालाई थप ग्राहकमैत्री बनाउन आवश्यक संयन्त्र स्थापनासमेत गर्दै आएको छ ।

मर्मतसम्भार र सेवाको दिगो उपलब्धता

शताब्दीअघिदेखि दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले सेवाको सुरुआतसँगै प्रभावकारी रुपले मर्मतसम्भारको कार्य पनि गर्दै आएको छ । २ माघ १९९० को महाभूकम्पले पुर्याएको क्षतिका कारण काठमाडौंबाट वीरगञ्ज, रक्सौलसम्मको टेलिफोन सम्पर्क विच्छेद भएको र लगत्तै ३ माघमै फेरि सम्पर्क कायम गरिएको त्यतिबेलाको गोरखापत्रको समाचारमा उल्लेख छ । यसबाट त्यतिबेला पनि मर्मतसम्भारको कार्य प्रभावकारी रहेको अनुमान गर्न सकिन्छ । त्यतिबेला काठमाडांैबाट वीरगञ्जसम्म पर्ने सबै कार्यालयमा निरन्तर टेलिफोन सेवा उपलब्धताका लागि मर्मत टोली राख्ने गरिएको र यसको जिम्मा व्यक्ति तोकेरै दिने गरिएको पाइएको छ ।

मुलुकका विभिन्न स्थानमा टेलिफोन विस्तारसँगै मर्मतसम्भारका लागि प्रत्येक स्थानमा एक जना लाइन इन्सपेक्टर, एक/एक जना लाइनमेन र कुल्ली राख्ने गरिन्थ्यो । त्यतिबेला पोल गाडी तार तानेर सेवा प्रवाह गर्नुपर्ने भएकाले लाइन तानिएका स्थानमा पर्ने सरकारी कार्यालयमा मर्मत टोलीलाई व्यवस्थापन गरिएको थियो । नयाँ प्रविधिसहित सेवा विस्तार भएपछि मर्मतसम्भारका लागि दक्ष जनशक्ति राख्नुपर्ने भएकाले बेलायतबाट इन्जिनियर तथा भारतबाट प्राविधिक ल्याई जिम्मेवारी दिइने गरिन्थ्यो ।

सेवा मर्मतसम्भार समयमै सम्पन्न गर्न टेलिफोनबाटै बिग्रिएको सेवाबारे जानकारी दिई मर्मत गराउन २०६३ देखि १९८ मा डायल गरी स्वतः गुनासो टिप्ने र मर्मत प्रक्रिया अघि बढाउने व्यवस्था गरियो । अहिले पनि देशभरमा जहाँको पनि टेलिफोन तथा इन्टरनेट सेवामा समस्या देखिए १९८ मा फोन गरी मर्मत प्रक्रिया अघि बढाउन सकिन्छ । यसका साथै जीएसएम सेवामा समस्या आए १४९८ मा डायल गर्न सकिन्छ ।

सेवालाई दिगो बनाउन र समयमै मर्मत गर्न टेलिकमले २०४० मा मर्मतसम्भार तथा सञ्चालन विभाग नै निर्माण गरी प्राथमिकताका साथ यसलाई अघि बढाएको पाइन्छ । २०४१ मा टेलिफोन सेवा मर्मतसम्बन्धी जानकारी दिन सुन्धारामा मर्मत केन्द्र एमसीसी स्थापना गरियो । त्यतिबेला १९८ मा डायल गरी अपरेटरले उठाएपछि मर्मतसम्बन्धी जानकारी लिन सकिन्थ्यो ।

कम्पनीले नयाँ प्रविधिबाट अत्याधुनिक दूरसञ्चार सेवाको उपयोगसँगै मर्मत गर्न नवीन प्रविधि प्रयोग गरिरहेको छ । गुणस्तरीय दूरसञ्चार सेवा दिगो रुपले उपलब्ध गराउने उद्देश्यअनुरुप नेपाल टेलिकम फोरजी सेवा लिएर अधिकांश स्थानीय तहमा र अधिकांश जिल्लामा अप्टिकल फाइबर सेवा लिएर उपस्थित भएको छ । यसका लागि कम्पनीका सेवा अत्यधिक प्रयोग हुने ठूला सहर तथा घना बस्ती भएका इलाकामा निरन्तर रेडियो नेटवर्क स्तरोन्नति गरिनुका साथै नयाँ नेटवर्क थप गरेको छ ।

माइक्रोवेभबाट जोडिएका मोबाइल टावरलाई अप्टिकल फाइबर र भिस्याटबाट जोडिएका मोबाइल टावरलाई माइक्रोवेभ लिंकमा आबद्ध गरी गुणस्तर वृद्धि गर्ने कार्य सम्पन्न भएका छन् । साथै, ठूला रिपिटर हबमा जेनेरेटरसहितको पावर ब्याकअप र अप्टिकल फाइबरको ब्याकहल लिंकको व्यवस्था पनि गरेको छ । यस अवधिमै वानजी क्षमतामा रहेका अप्टिकल लिंकलाई १०जी र १०जी क्षमतामा रहेका अप्टिकल लिंकलाई १००जी क्षमतामा स्तरोन्नति गर्ने सफलता कम्पनीले हासिल गरेको छ ।

प्रदत्त सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउन बिलिङ प्रणाली, ग्राहक गुनासो सम्बोधन गर्ने प्रणाली र कोर नेटवर्क प्रणालीलाई स्तरोन्नति र सुधार पनि नियमित रुपमा गरिरहेको छ । यसबाट सेवाको उपलब्धतामा अत्यधिक सुधार भएको बताइएको छ । इन्टरनेटको क्षमता अभिवृद्धि र तीव्र गति कायम गर्न आवश्यक ब्यान्डविथको विस्तार तथा लोकल क्यास सर्भरका क्षमतामा (गुगल, क्याउडफेयर, अकमई, फेसबुक आदि) विस्तार गरिएको छ । हालसम्म सेवाको मर्मतसम्भारमा व्यापक गुनासो सुनिने गरेको तथ्यलाई मनन गरी मर्मतसम्भार तथा सेवा सञ्चालनमा थप व्यवस्थासहित सेवाको उपलब्धतामा सुधार गरिएको छ ।

अत्याधुनिक सेवा ग्राहकले सहजै उयोग गर्न सकून् भनी कम्पनीले ८०० मेगाहर्जको फ्रिक्वेन्सीमा चल्ने तथा भोल्टी सेवा पनि प्रयोग गर्न सकिने मोबाइल सेट उत्पादन र निर्यातका लागि विभिन्न सेट उत्पादक कम्पनी र तीसँग सम्बन्धित प्रतिनिधिसँग समन्वय गरिरहेको छ । यसबाट कम्पनीका अत्याधुनिक र नवीनतम सेवा सबै ग्राहकले प्रयोग गर्न सक्नेछन् ।

पूर्वको सोलुखुम्बुको पातले रिपिटरमा फाइबर लाइन जोडेर त्यस क्षेत्रका उच्च हिमाली र पहाडी भेगका बस्तीमा थप गुणस्तरयुक्त दूरसञ्चार सेवा उपलब्ध गराएजस्तै गरी पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा पनि अप्टिकल फाइबर र माइक्रोवेभ लिंक जोडी निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने कार्य सुरु गरेको छ । कर्णालीमा समेत यसको विस्तार कार्य भइरहेको छ र हालै जुम्ला र कालीकोटमा यो सेवा पुगेको छ ।

उच्च गतिको डाटा/इन्टरनेट सेवा आवश्यक पर्ने दूरसञ्चार क्षेत्रमा उपलब्ध रहेका विविध प्रकारका सेवाको गुणस्तरीय तथा भरपर्दो रुपमा सञ्चालनका लागि वैकल्पिक मार्गसहितका अप्टिकल फाइबर रहेका अप्टिकल ट्रान्समिसन नेटवर्क विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसको विकल्पका रुपमा क्रमशः माइक्रोवेभ रेडियो तथा स्याटेलाइट/भीस्याट प्रणालीलाई उपयोग गर्ने गरिएको छ । सेवाको उपलब्धता एवं गुणस्तरमा थप अभिवृद्धि गर्न प्रिभेन्टिभ मेनटेनेन्स, नेटवर्क अप्टिमाइजेशन, ट्रासमिसन क्यापासिटी अपग्रेड, सर्भिस कोर नेवटर्क क्यापासिटी अपग्रेड, सोलार पावर सप्लाइ जडान, ब्याट्री ब्याकअप थप्नेलगायत कार्यलाई निरन्तरता दिइएको छ ।

सेवाको निरन्तर उपलब्धताका लागि दैनिक १२ घन्टा मर्मतसम्भार गर्ने गरी जनशक्ति व्यवस्थापन गरिएको छ । यसका अलावा गुनासा सम्बोधन गर्नेतर्फ हाल सञ्चालनमा रहेका १९८, १४९८ र विभिन्न प्रकारका आईभीआर सेवालाई व्यवस्थित गरिएको छ भने देशभर छरिएर रहेका टेलिकम कार्यालयलाई थप व्यवस्थित गर्न आवश्यकताअनुसार स्तरोन्नति गर्ने क्रम जारी रहेको छ ।

गुणस्तरीय सेवाको निरन्तरता सुनिश्चत गर्न अप्टिकल फाइबरको वैकल्पिक रुटमा विस्तार गर्ने कार्य विगतदेखि नै भइरहेकामा त्यसलाई निरन्तरता दिइएको छ । दूरसञ्चार अत्यावश्यक एवं संवेदनशील सेवा रहेकाले यसको निरन्तर उपलब्धताको सुनिश्चितताका लागि आवश्यकताअनुसार विभिन्न तहमा वैकल्पिक माध्यमसमेतको व्यवस्था भइरहेको छ ।

ग्राहक सेवा केन्द्रमा थप सुविधासहितका नयाँ प्रणाली व्यवस्था गरिएको छ । पछिल्लो समय प्रयोगमा रहेका सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाइनुका साथै सञ्जालबाटै ग्राहकसमक्ष पुग्ने र ग्राहक गुनासो सम्बोधन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विभिन्न निर्देशनालय, विभागका मर्मतसम्भार इकाइमा रहेका ट्रुवल टिकेटिङको अवधारणालाई अवलम्बन गरी मर्मतसम्भार कार्यलाई क्रमिक रुपमा थप व्यवस्थित गर्दै आइरहेको छ ।

समस्या आएपछि गरिने सुधारात्मक मर्मतसम्भारको कार्यमा मात्र सीमित नरही सम्भावित समस्याको पूर्वानुमान गरी सोको समयमै रोकथामका लागिसमेत विशेष ध्यान दिई नियमित रुपमा सम्भावित समस्या रोकथामसम्बन्धी मर्मतसम्भार कार्य गर्दै आइरहेको छ ।

१९९० होस् वा २०७२ को महाभूकम्प । यी दुवै अत्यन्त कठिन समयमा पनि चाँडोभन्दा चाँडो ग्राहकलाई दूरसञ्चार सेवा उपलब्ध गराई मर्मतसम्भारमा अब्बल रहेको कम्पनीले प्रमाणित गरिसकेको छ । २०७२ को भूकम्पपछि मर्मतसम्भारको समस्या निकै जटिल थियो । प्रशस्तै उपकरण तथा प्रणाली आबद्धता रहेको जटिल सञ्जाललाई पुनर्निर्माण गरी सेवालाई चुस्त–दुरुस्त राख्ने कार्य सम्पन्न गरिएको थियो ।

२०७२ मा कम्पनीले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण गर्न सरकारको निर्देशन एवं योजनाको परिधिभित्र रही निश्चित रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्नुका साथै निःशुल्क कलको व्यवस्था, एसएमएसमार्फत राहत संकलनमा सहयोग र विपद् जानकारीका लागि सिस्टम जडान गरेको थियो । यी प्रयासबाट कम्पनीका सेवाको गुणस्तर अभिवृद्धि हुने भएकाले ग्राहकबाट आउने गुनासा न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ ।

(पौडेल नेपाल टेलिकमका प्रबन्ध निर्देशक हुन् । उनकाे याे लेख गाउँबेशी नेटवर्क प्रालिले प्रकाशन गरेको पूर्वाधार समृद्धि म्यागेजिनबाट साभार गरिएको हो )


Read Previous

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

Read Next

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *