Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

इपान निर्वाचनः कार्की समूहबाट उठ्नेहरूको औपचारिक उमेद्वारी घोषणा


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि गणेश कार्की समूहबाट निर्वाचनमा उठ्ने पदाधिकारीहरूको औपचारिक उमेद्वारी घोषणा गरिएको छ । सोमबार राजधानीमा कार्यक्रम गरी कार्की प्यानलबाट निर्वाचनमा उठ्ने सम्पूर्ण पदका उमेद्वारको औपचारिक घोषणा गरिएको हो ।

अध्यक्षका अर्का प्रत्यासी किरण मल्ल समूहले उमेद्वारी घोषणा गरेको भोलिपल्ट कार्की समूहका उमेद्वारको औपचारिक घोषणा गरिएको हो । कार्की समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीले चुनावमा प्रतिश्पर्धा गर्दैछन् ।

५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम भ्लोन लामाले उमेद्वारी दिँदैछन् । कार्की नेतृत्वकै समूहको महासचिव पदमा बलराम खतिवडाको औपचारिक उमेद्वारी घोषणा गरिएको छ ।

यस्तै, उप–महासचिवमा प्रकाशचन्द्र दुलालको उमेद्वारी घोषणा गरिएको छ । सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपालले प्रतिश्पर्धा गर्दैछन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उमेद्वारी दिने तय भएको छ ।

सदस्य पदको ३ जना महिलामा शुसन बर्जाचार्य, सुमन जोशी र इशा श्रेष्ठको उमेद्वारी परेको छ । अन्य सदस्यका उमेद्वारमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, कुबेरमणि नेपाल, शंकर बश्याल, मिथुन पौडेल, भरत पराजुली र विजयमोहन भट्टराई छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी कार्कीले जलविद्युत प्रवद्र्धकहरुले भोग्नु परेका समस्या समाधानको पहलका लागि सबै निकायसँग समन्वय गरेर अघि बढ्न इपानको आगामी कार्यकालको नेतृत्व लिन उमेद्वारी घोषणा गरेको बताए ।

‘म लामो समयदेखि जलविद्युत क्षेत्रमा सक्रियरूपमा काम गर्दै आइरहेको छु,’ उनले भने, ‘यो क्षेत्रका सबै समस्याबारे म जानकार छु । अध्यक्ष पदको जिम्मेवारी पाएमा ऊर्जा क्षेत्रका समस्या समाधानका लागि पहल गर्न अग्रसर हुनेछु ।’ उनले बर्खामा निजी क्षेत्रका जलविद्युतगृहको विद्युत खेर जान थालेकाले अब विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि इपानको नेतृत्व गर्दै पहलकदमी गर्ने पनि बताए ।

जलविद्युत आयोजना निर्माणमा लागि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज पनि अहिलेको अवस्थामा ठूलो समस्या रहेको बताउँदै कार्कीले यो समस्या समाधानका लागि समेत सम्बन्धित निकायमा पुगेर विषय उठान गर्न प्रतिबद्ध रहेको बताए । ‘बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याज दरका कारण अहिले जलविद्युत प्रवद्र्धक समस्यामा छन् । मैले इपानको नेतृत्व लिने अवसर पाएको खण्डमा ब्याजदरको समस्या सम्बोधनका लागि पहल गर्नेछु’, उनले भने ।

अहिले १५ सय मेगावाटका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुलाइए पनि बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जोहो गर्न कठिनाइ रहेको उनले बताए ।

इपानका बर्तमान अध्यक्ष कृष्ण आचार्यले अहिले पनि सर्वसहमतिबाट नै नयाँ कार्यसमिति चयनका लागि प्रयास भइरहेको बताए । ‘अहिलेसम्मको हाम्रो प्रयास सर्वसहमत कार्यसमिति हुनुपर्छ भन्नेमा नै केन्द्रित छ,’ उनले भने,‘यदि, सर्वसहमति जुट्न सकेन भने पनि लोकतान्त्रिकरूपमा स्वच्छ प्रतिश्पर्धा हुनुपर्छ ।’ उनले मल्ल समूहबाट उमेद्वारी घोषणा गर्नेहरू पनि ऊर्जा क्षेत्रमा सक्रिय राम्रा व्यक्तित्व भएकाले मिलेर जान आग्रह गरे ।

पूर्व मन्त्री एवं जलविद्युत उद्यमी उमेश श्रेष्ठले सर्वसहमतिबाट कार्यसमिति पदाधिकारी ल्याउन आग्रह गरे । इपानमा अहिले साढे ४ सय सदस्य मात्रै भएकाले सर्वसहमतिबाट जान सकिने उनले बताए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले देशको व्यापार घाटा न्यूनिकरण गर्न विद्युतको भूमिका महतत्वपूर्ण हुने हुँदा जलविद्युत उद्यमीहरू मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्ने बताए । उनले नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका लागि शुभकामना दिँदै सर्वसहमतिबाटै कार्यसमिति चयन गर्न सुझाव दिए ।

जलविद्युत उद्यमी कुशकुमार जोशीले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुँदा आफ्नो हिस्सा कति हुन्छ भन्ने इपानले खोजी गर्नुपर्ने बताए । उनले विद्युत उत्पादन, प्रसारण र व्यापारमा देखिएका समस्या सम्बन्धित निकायमा पुर्याएर समाधान गराउन इपानको भूमिका बलियो हुनुपर्ने बताए ।

इपानमा निर्वतमान अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्भव भएसम्म सर्वसहमति कायम गरी नयाँ कार्यसमिति चयन गराउन चुनाव नहुने वातावरण बनाउन लागि परेको बताए । इपानको आगामी जेठ ३२ गते हुने २१औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि कार्की र मल्ल समूह प्यानल घोषणा गरी चुनावी प्रतिश्पर्धामा उत्रिँदै छन् । मल्ल समूहले केही पदमा मात्रै उमेद्वारी घोषणा गरेकाले कार्की समूहकै धेरै जना कार्यसमिति पदाधिकारी बन्ने सम्भावना देखिन्छ ।

तयारी अन्तिम चरणमा

इपानको वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । इपान निर्वाचन समितिले निर्वाचनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । जेठ २९ गतेदेखि सुरु हुने निर्वाचनका कार्यक्रम जेठ ३२ गते नयाँ नेतृत्वलाई प्रमाणपत्र दिएपछि सम्पन्न हुनेछ ।

मतदाता नामावलीमा दावी विरोधका लागि सोही दिन २ः१० देखि ३ः३० सम्मको समय दिइएको छ । दावी विरोधमाथि छानबिन गरेर सोही दिन ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ । उम्मेदवारी दर्ताको लागि जेठ ३० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिइएको छ ।

३:३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ । ४ः३० बजेसम्म उम्मेदवारको नामावलीमा दावी विरोध गर्न पाइने छ । दावी विरोधमाथि ५ बजेसम्म छानबिन गर्ने कार्यतालिका छ । ३० गते बेलुका ५ बजेदेखि ३१ गते दिनको ४ बजेसम्म उम्मेदवारहरूले चाहेमा उम्मेदवारी फिर्ता लिन समय दिइने छ । जेठ ३२ गते २१ औं साधारणसभाको बन्दसत्रपछि मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान पछि ३२ गते नै निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेछ ।


Read Previous

ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले-भगवती सडक खण्डकाे कालोपत्र गर्न सुरु   

Read Next

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

Leave a Reply

Your email address will not be published.