Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

हिमाल सफाई अभियानको ४५ दिनमा ३४ हजार किलोबढी फोहोर संकलन


काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट ३४ हजार किलो बढी फोहोर संकलन गरिएको छ । सन् २०२३ को मार्चबाट सुरु गरिएको हिमाल सफाई अभियानको ४५औं दिनमा ४ हिमालबाट ३४ हजार १ सय ६६ किलो फोहोर संकलन गरिएको हो ।

हिमाल सफाई अभियानले सफलतापूर्वक आधा बाटो तय गरिसकेको छ । यो अभियान आगामी ५ जुनमा सकिनेछ । प्रत्येक वर्ष सयौँ आरोही, सेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफुसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूर्ण फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन् ।

नेपाली सेना र सेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाईको प्रयास सुस्त भइ हालसम्म ४ हिमालबाट फोहोर संकलनको काम गरिरहेको छ ।

अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरू, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्ने कार्य भइरहेको सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डेले बताए । उनका अनुसार टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको छ ।

पहिलो संस्करण देखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेशन आवद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ रहेको छ । लक्षित ४ हिमालहरूबाट फोहोर संकलनलाई प्रभावकारी बनाउन टिमले स्थानीय सरकार, सरोकारवाला र सबन्धित निकायहरूसँग समन्वयमा काम गरिरहेको छ ।

दिगो फोहोर व्यवस्थापन प्रवद्र्धन गर्ने प्रयासको रूपमा फोहोर सङ्कलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ्ग पार्टनरलाई हालसम्म अन्नपूर्ण हिमाल र बरूणत्से हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।
जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौं, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिन मार्फत दर्साउँदै आएको छ ।

३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसियालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ । जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्वलाई जोड दिँदै यो अभियान समापन गरिने छ ।


Read Previous

५ वर्षमा १ सय ५१ किलोमिटर सडक कालोपत्र

Read Next

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

Leave a Reply

Your email address will not be published.