Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

मुगुको व्यथाः बिजुली नपुग्दा पुस्तौंदेखि दियालोकै भर   


मुगु । छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको ५ जनाको परिवार पुस्तौंदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन् । उनका छिमेकी कुम्मलाल बुढाको ६ परिवारको व्यथा पनि उस्तै छ ।

“मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला”, उनी भन्हाँछन्, “बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो ।” उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य छन् ।

गाउँबाट पारि हेर्दा गमगढी बजार बत्तीले झिलीमिली भए पनि आफूहरू अँध्यारोमा बस्दा ठूलो पीडा हुने गरेको ६९ वर्षीय उनले बताए । “बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ”, उनले भने, “बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला ।”

दियालोको धुवाँका कारण उनी झन्डै दुई दशकदेखि दमका बिरामी छन् । मोतीविन्दुको समस्या पनि देखिएको छ । शोभागाउँका एक सय ६५ परिवार ‘बत्तीमुनिको अँध्यारो’ मा बस्न बाध्य भएको उनले बताए । पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लाभरि झन्डै ९ हजार घरधुरी छन् । यसमध्ये करिब ५ हजार परिवार दियालो भरमा रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म सदरमुकाम आसपासका झन्डै ४ हजार परिवारले मात्र विद्युत् र वैकल्पिक ऊर्जा प्रयोग गर्न पाएको जनगणनाले जनाएको छ । सदरमुकामस्थित छायानाथरारा नगरपालिकाका २ हजार ५ सय ४६ घुरधुरीमध्ये १ हजार ६ सय घरधुरीमा गमगाढ जलविद्युत् आयोजनाको बिजुलीपुगेको छ । अझै करिब १ हजार घरधुरी विद्युत्को पहुँच बाहिर छन् ।

४ सय किलोवाटको आयोजनाले अझै पनिशोभा, रोवा, तल्लेख, घट्टलेख, सालिम, रयाङच्याकाटी, लुम्स, बालचौर, कम्फा, बाम र मुर्मा गाउँमा बिजुली पुर्याउन सकेको छैन । सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पुर्याएको छैन । खत्याड गाउँपालिकामा भने कुनै पनि वडा र बस्तीमा विद्युत्को पहुँच छैन ।

३ हजार ६ सय ५१ घरधुरी अझै पनि टुकी र दियालोकै भरमा छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण बाढीपहिरोले गाउँपालिकाका १५ साना र लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि पूरै जनसङ्ख्या बत्तीविहीन हुन पुगेको गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताए । उनका अनुसार बाढी पहिराले सेरी, तोलीखो, खर्क, केराइ चिमढुग्री, पइखु, चामिरखर्क, पन्सेरी राष्कोटीबाडालगायत १५ वटा साना र लघुजलविद्युत् योजना तहसनहस पारिदिएको छ ।

“ती योजना बनाउन कम्तीमा रु १० करोड बजेट आवश्यक छ”, उनले भने, “पालिका एक्लैले त्यत्रो रकम खर्च गर्न सक्दैन, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेका छन् ।” उनका अनुसार बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ । बालबालिका गृहकार्य गर्नबाट समेत बञ्चित छन् ।

खत्याड गाउँपालिकामा पनि विद्युत्को पहुँच शून्य छ । कृषि र फलफूल उत्पादनमा सबैभन्दा अब्बल मानिएको पालिकामा बत्तीको अभावले साना उद्योग–व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानीय व्यापारी लोकराज दाहाल बताउँछन् । विद्युत् भए गाउँमै ब्लक निर्माण, सिलाइ उद्योग, पाउरोटी, काट चिरान, क्रसरलगायतका उद्योग सञ्चालन गर्न सकिन्थ्यो । विद्युत्को समस्याले कम्प्युटर शिक्षासमेत ओझेलमा परेको स्थानीय शिक्षक कमल शर्माले बताए । पालिकाका विद्यार्थीले अहिलेसम्म कम्प्युटर विषय पढ्न पाएका छैनन् ।

झन्डै १ हजार २ सय घरधुरी रहेको कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने चार सय ३१ परिवार पनि अझै परम्परागत ऊर्जाकै भरमा छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा ६० किलोवाटको सोलार जडान गरिएको भए पनि स्थानीयले अझै पनि बिजुली देख्न नपाएको स्थानीय कर्णजङ्ग शाहीले बताए ।

नेरखोला जलविद्युत् आयोजनालाई विस्तार गरी सबैको घरमा बत्ती पुर्याउने लक्ष्य राखिएको भए पनि बजेट अभावमा योजनालाई गति दिन नसकिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । दियालोको धुवाँले गर्दा झन्डै ७५ प्रतिशत ज्येष्ठ नागरिक दम रोगबाट पीडित भएको पालिकाको तथ्याङ्क छ ।

गमगाढ साना जलविद्युत् आयोजना पटकपटक अवरुद्ध हुन थालेपछि सङ्घीय सरकारले २ वर्षअघि गमगढीमा ४ सय किलोवाटको सोलार प्लान्ट जडान गर्ने योजना ल्याए पनि बजेट अभावमा अझै काम अघि बढ्न सकेको छैन । प्लान्ट जडानका लागि चैत महिनाभित्र ठेक्का खोल्ने तयारी गरिएको गमगाढ साना जलविद्युत् आयोजनाका वितरण प्रमुख साजनबहादुर ऐडीले बताए ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीलगायतका सांसदले दबाब दिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र गमगढीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । घिसिङ गत असोजमा मुगु र हुम्लामा विद्युतीकरणकाे सम्भाव्यताबारे अध्ययन गर्न आफैँ पुगेका थिए ।

रामदेवी खड्का   (रासस)


Read Previous

कानूनी बाटो खुलेपछि साढे २ वर्षदेखि थन्किएका विद्युतीय सवारी अब सञ्चालनमा आउने

Read Next

नेपालमा उत्पादित सवारीको दर्ताका लागि बाटो खुल्यो   

Leave a Reply

Your email address will not be published.