Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

बागलुङ बरेङकाे ओखरेनी र छापगाउँमा पुग्याे राष्ट्रिय प्रणालीकाे विद्युत


ढाेरपाटन । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । विद्युत प्राधिकरणकाे बागलुङ वितरण केन्द्रले वितरण लाइनकाे संरचना विस्तार गरी यी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।

गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । गुणस्तरीय विद्युत पहुँच पुगेसँगै अब गाउँमा नै ठूला मेसिनरी सामान सञ्चालन गर्न सकिने हुँदा स्थानीय खुशी भएका हुन् ।

विद्युत प्राधिकरणले बरेङ गाउँपालिका छापा र ओखरेनीका १ सय ५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका एक सय ५० गरी ३ सय घरमा केन्द्रीय प्रसारण लाइन लाइन पुर्याएको छ ।  लघु जलविद्युत भरमा रहेका स्थानीयलाई राष्ट्रिय प्रसारण लाइनकाे विद्युत पहुँच पुगेपछि ठूलो राहत पुगेकाे बागलुङ वितरण केन्द्रले जनाएको छ ।

जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले बताए ।स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत विस्तार गरिरहेको उनकाे भनाइ छ ।

मरासेनीले ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए । उनका अनुसार जिल्ला सदरमुकासँग जोेडिएका पालिकाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

यसअघि २०५९ साल मंसिरमा पहिलो पटक गाउँमै निर्माण भएकाे २० किलाेवाटकाे पालुङखोला लघु जलविद्युत आयोजनाले उत्पादन गरेकाे विद्युत पहुँच पुगेकाे थियाे । याे बेला गाउँमा विद्युत पुगेपछि स्थानीयकाे जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भएकाे थियाे ।  स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो ।

२० किलोवाट क्षमताको उक्त लघु जलविद्युत आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेपछि विद्युतकाे गुणस्तरमा समस्या आउन थालेकाे थियो । आयोजनाबाट उत्पादित विद्युतले थप स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे । अहिले पनि उक्त विद्युत आयोजना सञ्चालनमा छ ।

पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युतले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब राष्ट्रिय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताए । लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर, अब भने त्यस्तो समस्या नआउनेमा उनकाे विश्वास छ ।

“बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दङ्ग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब राष्ट्रिय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ ”अध्यक्ष क्षेत्रीले भने ।

स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे । अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी सञ्चालन गर्न सकिने उनकाे भनाइ छ ।

“बिजुली बाल्न दुर्गम गाउँको समस्या धेरै हुनेरहेछ, बर्खामा कुलो भत्किने, रुख डलेर राता छुने हुँदा बिजुली बन्दहुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ”, उनले भने, “कहिले पावर हाउसमा सस्या आउँदा महिना दिनसम्म पनि अँध्यारोमा बस्यौँ, सरकारले अहिले गाउँमा केन्द्रीय प्रसारण लाइन ल्याएको छ, अब पहिलाको जस्तो महिनौंसम्म अँध्यारोमा बस्न पदैन की ?”

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट एक करोड रुपैयाँ र नेपाल सरकारबाट ९३ लाख रुपैयाँ विनियोजन भएको थियो । केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि  १४ करोड ५६ लाख रुपैयाँ बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उनकाे भनाइ छ ।

दुई वर्षमा सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन    

अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युत पहुँच पुग्ने भएको छ । विद्युत प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ । उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताए ।

बडिगाडको खार बजार र रमुवाका करिब ३ सय घरमा विद्युत् जडान सुरु गरिएको उनकाे भनाइ छ । सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताए ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका दुई सय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेशन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सवस्टेशन निर्माण भइरहको उहाँको भनाइ छ । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पुर्याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले बताए ।

“अबको दुई वर्षभित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्छ, अहिले सोहीअनुसार काम गरेका छौं”, उनले भने, “पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौं ।”


Read Previous

दीगो पूर्वाधार लगानी सम्मेलन सुरु, जलवायुमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड

Read Next

मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन

Leave a Reply

Your email address will not be published.