Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा


चितवन । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ । विगत २ वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनुले साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् ।

निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीका अनुसार सङ्घमा आबद्ध ४ सय निर्माण व्यवसायीमध्ये ३९० साना व्यवसायी छन् । जिल्लामा सङ्घमा आबद्ध नभएकासहित गरेर यो सङ्ख्या १ हजारभन्दा बढी छ । उनले नियमित काम गर्ने साना व्यवसायी यही अवस्था रहेमा झण्डै ७५ प्रतिशत पलायन हुने बताए ।

‘राज्यको पुरानो खरिद ऐनमा टेकेर ठेक्का सम्झौता गर्नुपर्ने, इन्धनको खर्च बढ्नु, बैंकहरूले ब्याज बढाउनुका कारण व्यवसायी सडकमा आउने अवस्थामा पुगेका छन्’ उनले भने । अहिले एक सय हाराहारी निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको बताउँदै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको बताए ।

जिल्लामा ८ देखि १० अर्ब रूपैयाँको ठेक्का सम्झौताअनुसार विकास निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार समयमा काम हुन नसक्दा व्यवसायीहरू कारबाहीमा समेत पर्ने गरेका छन् । राज्यले नदीजन्य वस्तुको ठेक्का नखोल्दा पहिलेको तुलनामा एक ट्रकमा नै ५ हजार महँगोमा कच्चा पदार्थ किन्न निर्माण व्यवसायी बाध्य रहेको अधिकारी बताए ।

निर्माण सामग्री ढुवानी गर्ने टिपर दैनिक सात घण्टा रोकिँदा काममा समस्या आएको उनको भनाइ छ । सवारी चाप नियन्त्रणका लागि ट्राफिक प्रहरीले बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ बजे देखि ८ बजेसम्म ढुवानीका टिपर रोक्दै आएको छ । अधिकारीको भनाइमा दिउँसोमा टिपर चल्न नपाउने र रातिमा कच्चा पदार्थ झिक्न नपाउने हुँदा समस्या भएको हो ।

सरकारले निजी जग्गाबाट निर्माणका लागि आवश्यक कच्चा पदार्थ खोल्ने तर खोलानाला नखोल्दा समस्या परेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले बताए । ‘समयमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ । यसको जिम्मा कसले लिने ?’ राज्यको नीतिका कारण साना तथा ठूला निर्माण व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।

ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्दासमेत सम्बन्धित निकायले समयमा निकासी नदिँदा अझै व्यवसायी मर्कामा परेका छन् । महँगीअनुसार मूल्यमा समायोजन नहुँदा निर्माण व्यवसायी समस्यामा परेको उनको भनाइ छ । ‘अधिकांश निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्’ उनले भने । राज्यको नीतिका कारण व्यवसायी मर्कामा परेकोमा जाेड दिए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता भएको मितिमा नै काम सम्पन्न हुनुपर्ने बताए । पछिल्लो समय निर्वाध रूपमा कच्चा पदार्थ नपाएको, बैंकको ब्याज बढेको, इन्धनको मूल्यमा वृद्धि भएको स्वीकार गर्दै उनले कतिपय व्यवसायीले बहानाबाजी गरेर काम नगर्ने गरेको बताए ।

भरतपुर महानगरपालिकाले अहिलेसम्म ठेक्का सम्झौता गरेर समयमा काम नसक्ने, सम्झौतापछि सम्पर्कमा नआउने, काममा ढिलासुस्ती गर्ने १७ निर्माण कम्पनीलाई कारबाहीसमेत गरेको अधिकारीले जानकारी दिए । राज्यले गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने तर व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनकाे भनाइ छ । रासस


Read Previous

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

Read Next

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

Leave a Reply

Your email address will not be published.