काठमाडौं । सरकारले आगामी ४ वर्षभित्र ९ अर्ब रुपैयाँभन्दा बढी निर्यात पुर्याउने लक्ष्यसहित राष्ट्रिय पश्मिना निर्यात रणनीति सार्वजनिक गरेको छ ।
सन् २०२१ मा ४ अर्ब अर्थात ३ करोड अमेरिकी डलर रहेको निर्यातलाई सन् २०२६ सम्ममा ७ करोड ५० लाख डलर अर्थात करिब ९ अर्ब रुपैयाँ लक्ष्यसहित निर्यात रणनीति २०७९–०८३ सार्वजनिक गरिएको हो ।
नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैंयाँ (करिब १ करोड ९३ लाख अमेरिकी डलर बराबर) बराबरको २२ लाख थान पश्मिना युरोपेली संघ, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया लगायतका देशमा निर्यात गरेको थियो, जुन सन् २०२० को तुलनामा १८ प्रतिशत बढी हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवालाहरूसँगको छलफल तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्यमा रणनीति तयार गरेको हो । रणनीति तयार गर्न युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) को प्राविधिक सहयोग रहेको छ ।
रणनीतिको मंगलबार कृषि अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारी विभागका मध्यपूर्व एशिया निर्देशक पेटेरिस उस्टुव्स, वाणिज्य सचिव मधु मरासिनी लगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।
नेपालबाट च्याङग्रा पश्मिनाको निर्यात वृद्धि भएको तथा दिगो निर्यातमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न योगदान पुग्ने सोचका साथ रणनीतिक ल्याइएको हो । रणनीति उद्देश्यहरुमा च्याङग्रा पश्मिना रेशा उत्पादन तथा पृष्ठ सम्पर्क वृद्धि गर्ने, पश्मिना उत्पादकको दीगो उत्पादन क्षमता वृद्धि गर्ने, नेपालबाट च्याङग्रा पश्मिना निर्यात तथा उत्पादनको प्रवद्र्धन गर्न संस्थागत तथा नीतिगत सहयोग सशक्त बनाउने छन् ।
यसका लागि ५८ करोड ८२ लाख ५० हजार स्रोत आवश्यक रहेकोमा निजी क्षेत्रबाट ३३.४ प्रतिशत अर्थात १९ करोड ६४ लाख ७५ हजार तथा सार्वजनिक क्षेत्रबाट ६६.६ प्रतिशत अर्थात ३९ करोड १७ लाख लगानी परिचालन हुने लक्ष्य राखिएको छ । यसको कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिवको अध्यक्षतामा राष्ट्रिय निर्देशक समिति बनाउने पनि रणनीतिमा उल्लेख छ ।
सर्वेक्षण र परामर्शका माध्यमबाट संकलन गरिएको तथ्यांकमा आधारित तथ्यअनुसार २०७७ (सन् २०२०)मा च्याङग्राको संख्या १ लाख ११ हजार ६ सयदेखि १ लाख ४३ हजारको बीचमा रहेको अनुमान गरिएको छ ।
नेपाल सरकारले गरेको अध्ययनले नेपालको उच्च हिमाली क्षेत्रका मुस्ताङ, मुगु, जुम्ला, डोल्पा, मनाङ लगायतका १५ जिल्लालाई च्याङग्रा पालनको सम्भावित क्षेत्रको रूपमा पहिचान गरेको छ । पश्मिना उद्योगले २० हजारभन्दा बढीलाई रोजगारी दिलाएको छ जसमध्ये झण्डै ५० प्रतिशत महिला छन् ।
रणनीति सार्वजनिक कार्यक्रममा मन्त्री दामोदर भण्डारीले उच्च हिमाली जिल्लाका किसान तथा उत्पादकदेखि निर्यातकर्तासम्मको मूल्य श्रृंखलाभर नै पश्मिनाको सकारात्मक सामाजिक आर्थिक प्रभावलाई ध्यानमा राखी सरकारले यसको मूल्य श्रृंखला विकासलाई प्राथमिकतामा राखेको बताए ।
युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारी विभागका मध्यपूर्व एशिया निर्देशक पेटेरिस उस्टुव्सले रणनीतिले साना तथा मझौला व्यवसायीहरूले सुदृढ पृष्ठ सम्पर्क तथा निर्यात व्यापारबाट लाभ लिन सहयोग पु¥याउने उद्देश्य लिएको बताए ।
आइटिसीको देशीय कार्यक्रम विभागका निर्देशक आशिस शाहले रणनीति तयार गर्न पाएकोमा गर्व लागेको बताउँदै रणनीतिमार्फत नेपाली जनताको जीवनस्तर सुधार गर्न चाहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
वाणिज्य सचिव मधुकुमार मरासिनीले च्याङग्रा पश्मिनाको ठूलो सम्भावनालाई अझै उपयो गर्न नसकेको बताउँदै पश्मिना लगायत उच्च सम्भावना भएका उत्पादनको प्रवद्र्धनका लागि इयु लगायतबाट आवश्यक सहयोग जारी राख्न आग्रह आग्रह गरे ।
कार्यक्रममा सचिव मरासिनीले च्याङग्रापालन वृद्धिका लागि किसानलाई सरकारले सहयोग गर्ने बताए ‘यसको उत्पादकत्व बढाउनु पर्छ तथा नेपालले पहिले कमाएको गुणस्तरको ख्याति पुनः प्राप्त गर्नुपर्छ । यस सन्दर्भमा यो रणनीतिले दीर्घकालीन क्षेत्र विकासका लागि तय गरिएका स्पष्ट प्राथमिकता सहितको साझा अवधारणा प्रदान गर्छ ।’
पश्मिना उत्पादक संघका अध्यक्ष विजय दुगडले सरकारले ल्याएको रणनीति स्वागतयोग्य भएपनि यसको कार्यान्वयनका लागि प्रभावकारी नीति र कार्यक्रम आवश्यक पर्ने बताए । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले रणनीतिले महिला उद्यमीलाई प्राथमिकता दिएको बताउँदै उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताइन् ।
पश्मिना निर्यातका लागि च्याङग्राको संख्यामा वृद्धि गर्नुपर्ने भएपनि संख्या घट्दै जान लागेकोले रणनीतिको कार्यान्वयनले उत्पादन वृद्धि हुने जाने अपेक्षा गरिएको छ । तर चीनसँगको नाका बन्द भएको कारण च्याङग्रा बेचविखन गर्न नपाउँदा पछिल्लो समयमा च्याङग्रा पालन भने घट्दै गएको स्थानीयबासी बताउँछन् ।
कार्यक्रममा उपस्थित मुस्ताङको लो–घेकर दामोदारकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट पछिल्लो समयमा चीनतर्फको नाका बन्द भइ च्याङग्रा विक्री नहुँदा तथा आर्थिक समस्याको कारण च्याङग्राको संख्या घटाउँदै गएको र निर्यात रणनीतिले यसमा सहयोग गर्न सक्ने बताए ।
ललितपुरमा पश्मिना फाइवर प्रशोधन केन्द्र
ललितपुरको हरिसिद्धिमा पश्मिना फाइवर प्रशोधन केन्द्र स्थापना गरिएको छ । पश्मिना निर्यातलाई वृद्धि गर्ने उद्देश्यसहित मंगलबार सो केन्द्रको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भन्डारी र युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारी विभागका मध्यपूर्व एशिया निर्देशक पेटेरिस उस्टुव्सले संयुक्त रूपमा शिलान्यास गरे ।
राष्ट्रिय पश्मिना निर्यात रणनीति
Executive Summary Nepali -Final