Nepal Purbadhar

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा सञ्चालनमा


जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ ।

मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए । सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो।

सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए । आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए ।

स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौँ–नेपालगञ्जलगायतका अन्य जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।

दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै आवत जावत भइरहेको बताइएको छ। अब नेपालगञ्जबाट सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादरसमेत घट्ने भएको छ । यही ठाउँमा नयाँ पुल निर्माणको कामसमेत चलिरहेको छ । अघिल्लो वर्ष निर्माण भइसक्नुपर्ने पुल यस वर्ष मात्र निर्माण सुरु गरिएको छ । अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी बुद्धीबहादुर खत्रीले बताए ।


Read Previous

माडीका चार खानेपानी आयोजनामा आवश्यकभन्दा बढी आइरन

Read Next

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’