Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक


काठमाडौं । पछिल्लो समय विद्युत क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा उत्पादित विद्युतको जडित क्षमता ९ सय मेगावाट पुर्याउने भएको छ । गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा रहेका दर्जन बढी विद्युत (जलविद्युत र सौर्य ) आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा यति विद्युत जोड्ने लक्ष्य लिएको हो ।

गोल्यान समूहसँग अहिले जलविद्युत र सौर्य गरी अनुमतिपत्र लिएका १४ आयोजना छन् । यी विद्युत आयोजना निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड अमेरिकी डलर (करिब १ खर्ब ६९ अर्ब रुपैयाँ) लगानी आवश्यक पर्नेछ ।

कूल लागतको ७५ प्रतिशत स्वदेशी एवं विदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानीबाट जुटाएर विद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बमोजिम अघि बढेको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताए । उनले कूल लागतको २५ प्रतिशत मात्रै स्वपुँजी लगानी जुटाउनु पर्ने हुँदा गोल्यान समूह यसमा सफल हुने बताए ।

हरेक विद्युत आयोजनाको प्रतिमेगावाट लागत फरक हुने हुँदा सबै आयोजना प्रतिमेगावाट साढे १६ देखि १७ करोड रुपैयाँ लागतमा सम्पन्न गर्न सकिने उनले दाबी गरे । गोल्यान समूहको संलग्नता रहेकाेमध्ये सिन्धुपाल्चोकमा निर्माण भएको ३६ मेगावाटको माथिल्लो फलेफी ‘ए’ जलविद्युत आयोजनाको विद्युत चालू वर्षमा नै प्रसारण प्रणालीमा आइसकेको छ । बाँकी १३ वटा विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

सन् २०३० भित्र अनुमतिपत्र लिएका सबै विद्युत आयोजना प्रसारण प्रणालीमा थपिसक्ने लक्ष्यका साथ काम गरिरहेको अर्यालले बताए । ‘अबको ८ वर्षमा अनुमतिपत्र लिएका जलविद्युत र सौर्य विद्युत गरी सबै आयोजनाको निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,’उनले नेपाल पूर्वाधारसँग भने, ‘सबै सम्भव नभए पनि ९ सय मेगावाटको ८० प्रतिशत आयोजना त अवश्य सम्पन्न हुनेछन् ।’

माथिल्लो बलेफी ‘ए’ बाहेक गोल्यान समूहसँग ९७.२ मेगावाटको इसुवाखोला अर्धजलाशय जलविद्युत आयोजना अहिले निर्माणाधीन छ । यो आयोजना केएनबिआर इसुवा हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेको छ । यो आयोजना २०८० साल चैतभित्र निर्माण सम्पन्न गर्ने तालिका छ । तर, कोभिड–१९ महामारीले आयोजनाको काम प्रभावित भएको हुँदा निर्धारित तालिकाभन्दा १ वर्ष निर्माण धकेलिने देखिएको छ । आयोजना एक वर्ष धकेलिँदा पनि २०८१ सालभित्र प्रसारण प्रणालीमा जोड्न सम्भव हुने अर्यालले बताए ।

यो आयोजना निजी क्षेत्रले स्वदेशी पुँजीबाट निर्माण गरिरहेको अहिलेसम्मको ठूलो हो । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । यो आयोजना प्रतिमेगावाट १० करोड २९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

यस्तै, ५४ मेगावाटको तल्लो अप्सुवा आयोजनामा पनि गोल्यान समूहले लगानी गरेको छ । मिजु इनर्जी लिमिटेडमार्फत यो आयोजना हुँदैछ । अहिले आयोजनाको निर्माण सुरु गर्नुअघि गर्नुपर्ने पूर्व तयारीका कामहरू भइरहेको अर्यालले बताए । उनका अनुसार आयोजनाको विस्तृत डिजाइनको काम चलिरहेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) का लागि पालो कुरिरहेको छ ।

सिन्धुपाल्चोकमै ४६ मेगावाटको माथिल्लो फलेफी आयोजना निर्माण हुँदैछ । अप्पर बलेफी हाइड्रोपावर कम्पनीमार्फत अघि बढेको यो आयोजनाको पनि अहिले विस्तृत डिजाइन तयार गर्ने काम भइरहेको छ । यी बाहेकका ४ जलविद्युत आयोजना अध्ययनको चरणमा छन् ।

५० मेगावाटको ताराप खोला, ५७ मेगावाटको मुगु खोला, ३०६ मेगावाटको माथिल्लो मुगुखोला, र १३५ मेगावाटको नामलाङ खोला जलविद्युत आयोजना अहिले अध्ययनको चरणमा छन् । ताराप खोला र मुगुखोलाको प्रारम्भिक चरणको अध्ययन भइरहेको अर्यालले बताए ।

माथिल्लो मुगु र नामलाङ खोला आयोजनाको प्रारम्भिक चरणको अध्ययन पूरा भइसकेको छ । मुगु जिल्लामा पहिचान भएका अर्धजलाशय प्रकृतिका यी दुई आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकाको फेडेरल बैंक अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) ले आर्थिक अनुदान दिँदैछ ।

अमेरिकी वित्तीय संस्थाको अनुदान सहयोगमा अबको २ वर्षभित्र यी आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्ने लक्ष्य छ । अमेरिकी वित्तीय संस्थाले यी आयोजनाको अध्ययनका लागि करिब १ अर्ब २० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भइसकेको छ । यी दुई आयोजना निर्माण गर्न छुट्टा छुट्टै सहायक कम्पनी स्थापना गरिएको छ ।

जलविद्युत बाहेक ६० मेगावाट विद्युत सौर्य ऊर्जाको स्रोतबाट उत्पादन गरी प्रसारण प्रणालीमा थप्ने लक्ष्य छ । ६० मेगावाट मध्ये २० मेगावाटका सौर्य विद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् । बाँकेमा १०/१० मेगावाटको बाँके-१ र बाँके-२ सौर्य विद्युत आयोजना निर्माणाधीन छन् । जसमध्ये बाँके-२ को १० मेगावाट विद्युत अबको एक महिनाभित्रमा प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको छ ।

बाँके-१ को थप १० मेगावाट विद्युत पनि अबको ५ महिनाभित्रमा निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ । थप ४० मेगावाटका ४ सौर्य विद्युत आयोजना अध्ययन पूरा भई नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) का लागि पालो कुरिरहेका छन् ।


Read Previous

लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

Read Next

होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके

Leave a Reply

Your email address will not be published.